इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट नयाँ फम्र्र्याटको क्रिकेट खेलको सुरुवात भएको छ ।
क्रिकेटमा टेष्ट, एक दिवसीय, टी ट्वान्टी र टी टेनका खेलहरू हुँदै आएकोमा सुनसरी युथ क्लबले नयाँ फम्र्र्याट अर्थात् एक सय बलको प्रतियोगिता सञ्चालनमा ल्याएको हो । विश्वजगत्मा उक्त फम्र्र्याटका खेलहरू सुरुवात भए पनि भोक्राहाबाट सुरुवात भएको एक सय बल क्रिकेट नेपालका लागि भने पहिलो हो । आइसीसीबाट मान्यताप्राप्त सय बल क्रिकेट प्रतियोगिता आयोजना गर्न नेपाल क्रिकेट सङ्घले समेत मान्यता दिएपछि सुनसरी युथ क्लबले चार महिना लामो तयारीपश्चात् खेल सञ्चालनमा ल्याएको हो । फिल्ड व्यवस्थापन, लाइट जडान, स्पोन्सरको खोजी र खेलाडी छनौटका लागि अक्सनलगायतका कार्यमा चार महिना बढी समय लागेको आयोजक संस्थाका अध्यक्ष अफजल हुसेनले बताए ।
कोशी प्रिमियर लिग नाम दिइएको प्रतियोगितालाई आइसीसीको नियम बमोजिम सञ्चालनमा ल्याइएको बताएका हुसेनले खेल अवधिभर क्यानका प्रतिनिधिसमेतको टोलीले निगरानी र निरीक्षण गरिरहने बताए । खेल सञ्चालन पूर्व आयोजित उद्घाटन सत्रमा गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद, सांसद् तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा पूर्वमन्त्री कार्कीले समग्र विकाससँगै खेलकुदसमेत आफ्नो प्राथमिकतामा रहेको बताए । सो क्रममा उनले क्रिकेटको विकास र खेलाडीको क्षमता अभिवृद्धिमा साथ र सहयोग जारी रहने बताए । उनले भोक्राहाको खेलमैदान र खेलका लागि क्यानको सहयोग दिलाउने प्रतिबद्धतासमेत दिलाए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले भोक्राहामा निर्मित खेलमैदानलाई एकेडेमीका रूपमा अघि बढाउने बताए । उनले खेल मैदानलाई प्रदेशस्तरकै नमुना बनाउन गाउँपालिकाले विशेष पहल गर्ने बताए । उनले सुनसरी युथ क्लब र डा.खलिल आजाद स्मृति प्रतिष्ठानको सपना साकार बनाउन स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबाट सहयोग र सहकार्य प्राप्त हुनेमा विश्वस्त रहेको समेत बताए । प्रतियोगितामा ४ वटा फ्रेन्चाइज टिमको सहभागिता रहेको छ । उद्घाटन खेलमा भने हिदायत इनरुवा वारियर्स विजयी भएको छ । प्रतियोगिताको फाइनल खेल असार ५ गते हुनेछ । विजेताले ट्रफीसहित ५ लाख हात पार्नेछ । क्रिकेटको नयाँ फम्र्याटमा खेलाइएको उक्त प्रतियोगिता भोक्राहा नरसिंह गाउँपालिकाको संयोजन र सुनसरी जिल्ला क्रिकेट सङ्घको प्राविधिक संयोजनमा सञ्चालनमा ल्याइएको हो ।