बाढीपहिरोले मुहान बगाएपछि ताप्लेजुङको विभिन्न गाउँमा अहिले खानेपानी समस्या भएको छ ।  निरन्तर वर्षासँगै आएको बाढीपहिरोले खानेपानी आयोजनामा क्षति पु¥याउँदा सर्वसाधरणले दूषित खानेपानी पिउन बाध्य छन्  ।

खानेपानीको पाइप, धार र पानीको स्रोतसमेत बाढीपहिरोले बगाउँदा ताप्लेजुङको सिदिङवा गाउँपालिका—७ सुरूमखिम गाउँमा सर्वसाधरणले दूषित खानेपानी पिउन बाध्य भएका छन् । पहिरोको कारण खानेपानीको मुहानमा क्षति पुगेको तथा बाढीका कारण खानेपानीको करिब दुई किलोमिटर पाइप बगाएकाले शुद्ध पानी खान समस्या भएको स्थानीयवासीको भनाइ छ ।

 बाढीपहिरोले खानेपानीको  मुहान अङ्गुवा खोला र थाढे खोलाको मुहानमा ३० भन्दा धेरै ठाउँमा पहिरोले क्षति पुर्याएकाले  खानेपानीको समस्या आएको थाढे खोला खानेपानी  तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भीष्माराज लिम्बूले बताए ।

उनले भने “अहिले खानेपानी वितरण पूर्णरुपमा बन्द भएको छ । खानेपानीको मुहान बगाएको छ । केही खानेपानीका संरचानमा पूर्णरुपमा क्षति गराएकाले अहिले खानेपानी आपूर्तिमा समस्या भएको छ ।”

बाढीपहिरोले सुरुम खिमका केराबारी, बुरुमखिम र टारी विभिन्न खानेपानीको पाइप बगाउँदा करिब दुई सय ९० घरपरिवार खानेपानीबाट  प्रत्यक्ष प्रभावित भएको बालकल्याण माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विदुर गुरुङले बताए । मेरिङदेन गाउँपालिकासमेत खानेपानीको समस्या हुँदै आएको छ ।

खानेपानी आयोजनाको संरचना बाढीपहिरोले बगाएपछि खाने पानीको समस्या भएको गाउँपालिकाले जनाएको छ । खानेपानीको पाइप, मुहान तथा ट्याङ्कीसमेत बगाउँदा ७४ घरपरिवार खानेपानीबाट वञ्चित भएको मेरिङदेन गाउँपालिकाका विपद् व्यवस्थापन समितिले जनाएको छ ।