इजरायल–प्यालेस्टाइन द्वन्द्वमा गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६सय ८७ र घाइते हुनेहरूको सङ्ख्या तीन हजार ७ सय २६ पुगेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी गराएको छ ।

प्यालेस्टिनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) ले शनिबार गाजा पट्टीसँग जोडिएका इजरायली शहरहरूमा अचानक आक्रमण गरेपछि इजरायलले गाजामा जवाफी हमला गरेको थियो । आक्रमणका क्रममा हमासका लडाकूले गाजा पट्टीलाई इजरायलबाट छुट्याउने सुरक्षा घेरा तोडेर आसपासका समुदायमा आक्रमण गरी इजरायलीको हत्या गरेको र सयौँलाई कब्जा गरेका थिए ।

यसैबीच जेरूसेलमबाट प्राप्त समाचारमा इजरायलको सरकारी स्वामित्वको कान टिभीले सोमबार दक्षिणी इजरायलमा हमासको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ९ सय भन्दा बढी पुगेको जनाएको छ। इजरायली सेनाले हमाससँगको युद्धको चौथो दिन इजरायलमा फेला परेका हमास लडाकूका करिब एक हजार ५ सय मृत शरीरहरू आफूसँग राखेको मङ्गलबार जनाएको छ ।   

इजरायली रक्षा बलका अन्तर्राष्ट्रिय प्रवक्ता रिचार्ड हेक्टले पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा भने “गाजा पट्टी र वरपरका इजरायली क्षेत्रमा हमास लडाकूका करिब एक हजार ५ सय शव फेला परेका छन् ।हेक्टका अनुसार हमासका लडाकूहरूले शनिबार तोडेको गाजा वरपरको सुरक्षा घेराको क्षेत्रमा सुरक्षा फौजले नियन्त्रण कायम गरेको छ । 

उनले तटीय प्यालेस्टिनी भूभाग वरपरको क्षेत्रमा ३५ बटालियन तैनाथ गरिएको बताएका छन् । सीमासँग जोडिएका समुदायका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम लगभग पूरा भइसकेको उनले बताएका ।

इजरायली सरकारी सञ्चारमाध्यम र सशस्त्र समूहका अनुसार इजरायलमा कम्तीमा ९ सय जनाको मृत्यु भएको छ भने गाजामा करिब १३० सर्वसाधारण र सैनिकलाई बन्धक बनाइएको छ । त्यस्तै, संयुक्त राष्ट्रसङ्घका लागि इरानको स्थायी नियोगले इजरायलविरुद्ध प्यालेस्टाइनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट ९हमास० को सैन्य कारबाहीमा इरानको संलग्नता नरहेको बताएको छ ।

इरानी नियोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्यालेस्टाइनी राष्ट्रप्रति ऐक्यवद्धता जनाउन इरान दृढतापूर्वक उभिएको छ। हमासले हालै गरेका निर्णय र उपायहरूको ‘जनताको आत्मनिर्णयको अधिकारको आधारभूत सिद्धान्तमा बलियो जरा गाडेको छ, जुन इजरायलको सात दशकको क्रूर कब्जाको पूर्ण रूपमा वैध प्रतिक्रियाको सङ्केत हो ।” 

इजरायली आक्रमणका कारण गाजामा एक लाख २३ हजारभन्दा बढी मानिस आन्तरिक रुपमा विस्थापित भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले सोमबार जनाएको छ। इजरायली हवाई आक्रमण र गोलाबारीका कारण घर र आवासीय भवनमा क्षति पुगेको छ भने गाजा शहरमा रहेका चार वटा बहुतले आवासीय भवन ध्वस्त भएका छन्। आक्रमणमा परी छ जना स्वास्थ्यकर्मीको मृत्यु भएको, चार जना घाइते भएको र सात वटा स्वास्थ्य संस्था र नौ वटा एम्बुलेन्समा क्षति पुगेको कार्यालयले जनाएको छ ।

पानी, सरसफाइ सेवाहरूमा भएको क्षतिका कारण गाजामा चार लाखभन्दा बढी मानिसहरूले उक्त सेवा प्राप्त गर्न सकेका छैन्। गाजा पावर प्लान्ट अहिले बिजुलीको एक मात्र स्रोत हो र केही दिनभित्रै इन्धन समाप्त हुन सक्ने चेतावनी दिइएको छ ।