वराहक्षेत्र । वराहक्षेत्र–२ सखुवागाछीमा कार्यालय रहेको बयरवन महिला सहकारीले सदस्यहरूलाई स्वरोजगार बनाएको छ ।

संस्थाका सदस्य रमिता सार्की, अनिता राई, सरस्वती लुइँटेल, सङ्गीता कार्की, कविता नेपाल र गीता पाण्डे गाउँमै विभिन्न पेशा व्यवसायमा आबद्ध छन् । संस्थाले आफ्ना सदस्यहरूलाई उद्यमी बनाउन ऋण प्रवाह गर्दै आएको छ । उनीहरूजस्ता झण्डै आधा दर्जन महिला आफ्नै पेशामा आबद्ध छन् । सहकारीले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत् उपलब्ध गराएको २५ लाख रुपैयाँ ऋणको सदुपयोग गरेर ३० जना सदस्यहरू अहिले विभिन्न पेशामा आबद्ध रहेको सहकारीकी अध्यक्ष रेणुकुमारी तिमिल्सिना कार्कीले बताइन् । ‘विना धितो उनीहरूलाई ५० हजारदेखि एक लाख रुपैयाँ ऋण दिएका थियौँ, त्यसको उपयोग गरी सदस्यहरू रोजगार भएका छन्’–चतराको औलिया मठमा सोमबार सम्पन्न नवौँ साधारणसभामा बोल्दै अध्यक्ष तिमिल्सिनाले भनिन् ।

५० हजार ऋण लिई सुँगुर पालन थालेकी वडा नं. २ देवीथानकी रमिता सार्की अहिले व्यवसायलाई बढाउने तयारीमा छिन् । ‘आफ्नो गर्जो टार्न पहिला अरूको भर पर्नुपथ्र्यो; अहिले आफै पैसा खेलाउने भएको छु’–सार्कीले भनिन् । देवीथानकै एकल महिला सरस्वती लुइँटेल पनि किराना पसलबाट अहिले राम्रैसँग जीविकोपार्जन गरिरहेकी छन् । तीन वर्षअगाडि एक लाख रुपैयाँ ऋण लिई किराना पसल सुरु गरेकी उनी अहिले ऋणमुक्त छिन् ।

‘पहिला दैनिक जीवन चलाउन धेरै समस्या थियो, संस्थामा लागेपछि सजिलो भएको छ’–लुइँटेलले भनिन् । सहकारीले आफ्ना सदस्यहरूलाई गुडिया, चुरा पोते, कुसन बनाउने तालिम दिँदै आएको छ । तालिम लिनेहरूले व्यवसाय गर्न चाहेमा ऋण पनि प्रवाह गर्ने गरेको छ । न्यून आय भएका सदस्यका छोराछोरीलाई निःशुल्क शिक्षा दिने कार्यक्रमअन्तर्गत चतराघाटकी रञ्जना सुनुवारलाई वार्षिक ११ हजार ५ सय रुपैयाँ शुल्क तिरिदिएर स्नातकसम्म अध्ययन गराएको अध्यक्ष तिमिल्सिनाले बताइन् ।

सभामा वित्तीय प्रतिवेदन प्रस्तुत गर्दै उनले आर्थिक वर्ष २०७९/०८० मा आइपुग्दा एक करोड ३० लाख ६४ हजार सात सय चार रुपैयाँ बचत सङ्कलन भएको बताइन् । सदस्यहरूलाई प्रतिकित्ता एक प्रतिशतको दरले शेयर लाभांश पनि प्रदान गर्दै आएको सुनाइन् । कार्यक्रममा वराहक्षेत्र नगर सहकारी शाखा प्रमुख मातृका तिवारी र अध्यक्ष तिमिल्सिनाले ज्येष्ठ नागरिक, उत्कृष्ट बचतकर्ता अनुशासित समूहलाई सम्मान गरेका थिए ।