विराटनगर । एक जना युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।विराटनगरमा २५ वर्षीया एक युवतीलाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालक रहेका छन् ।
तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक हुन् । चौहान सह–चालक हुन् । १६ वर्षीय बालक अर्को ट्रकमा काम गर्ने सह–चालक रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । तीनैजना मिलेर विराटनगर महानगरपालिका–३ मा आइतबार बिहानको राति बलात्कार गरेको प्रहरीले जनाएको छ । उनका अनुसार घटनामा संलग्नहरू ट्रक पार्किङ गरेर खाना खान विराटनगर बसपार्कको होटलमा पुगेका थिए । खाना खाएपछि सिटी सफारी चढेर ट्रक राखेको ठाउँमा उनीहरू फर्किएर आएको दाहालले बताए ।
उनका अनुसार फर्किने क्रममा सफारीमै यात्रा गरिरहेकी युवतीलाई ललाई फकाई ट्रक पार्किङ गरेको स्थानमा पुर्याएर सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘पार्किङ गरेर राखेको दुईवटा ट्रकको बीचमा रहेको खाली ठाउँमा पुर्याएर युवतीमाथि सामूहिक बलात्कार गरेको पाइयो’ डिएसपी दाहालले भने, ‘स्थानीयले खबर गरेपछि प्रहरीलाई घटनाको जानकारी भएको हो ।’
पीडित युवती चिच्याउन थालेपछि स्थानीय र पैदलयात्रीले घटना थाहा पाएको उनको भनाइ छ । युवती चिच्याएको सुनेपछि घटनास्थलमा पुगेकाहरूले प्रहरीलाई खबर गरेको डिएसपी दाहालले बताए । घटनास्थलमा मानिस भेला हुन थालेपछि तीनैजना दौडिएर ट्रकभित्र छिरेका थिए । लगत्तै परिचालित प्रहरी टोलीले घटनामा संलग्नलाई पक्राउ गरेको उनले बताए ।
आक्रोशित बनेकाहरूले ट्रकमा तोडफोडसमेत गरिदिएका छन् । तोडफोटबाट ट्रकको अगाडिको सिसा फुटेको छ । पीडितले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेकाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन सोमबार म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाइने जानकारी डिएसपी दाहालले दिए ।