बिर्तामोड । राज्यले अदूरदर्शिताका साथ दूधको मूल्य बढाउँदा किसानलाई नै विस्थापित गराउने अवस्था सिर्जना भएको छ । नेपाल पछिल्लो समय दूधमा आत्मनिर्भर बनेको छ । केही महिनायता दूध उत्पादन दोब्बरले वृद्धि भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली दूधजन्य सामग्रीले प्रतिस्पर्धा गर्न नसक्दा फ्याँक्नुपर्ने अवस्था सिर्जना भएको डेरी एशोसिएसन नेपालले जनाएको छ । एशोसिएसनको कोशी प्रदेश सरकार समितिले दूधमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । गतवर्षको फागुनमा सरकारले दूधको मूल्य वृद्धि गरेको थियो ।
सो मूल्य वृद्धिमार्फत् दूधको बजार तहस–नहस भएको निष्कर्ष एशोसिएसनको छ । अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपाली बजारमा दूधको मूल्य उच्च भएपछि दूध र दूधजन्य पदार्थ बिक्री नभएर सड्ने अवस्थामा रहेको एशोसिएसनले जनाएको छ ।
झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै एशोसिएसनले मूल्य वृद्धि फिर्ता नलिने हो भने चाडपर्वपछि ८० प्रतिशतले दूधको बजार ठप्प हुने बताएको छ । एशोसिएसनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजन चिमरियाले अन्तर्राष्ट्रिय बजार विश्लेषण नगरी हचुवाको भरमा दूधको मूल्य वृद्धि गर्दा यतिबेला किसान सबैभन्दा मारमा परेको बताए ।
चिमरियाले कोशी प्रदेशमा ५ लाख केजी नौनी (घिउ) स्टक रहेको बताए । नौनीको पनि उपभोग्य मिति गुज्रने समय आउन लागेको भन्दै चिमरियाले केही डेरी सञ्चालकले नष्ट गर्न थालेको जानकारी दिए । नेपाली बजारमा दूधको अस्वभाविक मूल्य वृद्धि गरिएपछि भारतीय बजारबाट खुल्ला दूध र दूधजन्य पदार्थ नेपाल आउन थालेकाले नेपालमा ‘मिल्क होलिडे’ गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
‘भारतीय कृषकलाई त्यहाँको सरकारले अनुदान बढी दिन्छ, त्यसकारण उनीहरूले सस्तो मूल्य राखेर दूध बिक्री गर्न सक्छन्’ चिमरियाले भने, ‘नेपालमा अनुदान छैन, बढाएको मूल्य चोकर उद्योग, दाना उद्योग र पशु औषधि उद्योगले लगेका छन्, सरकारले त्यसको अनुगमन र नियमन गर्न सकेको छैन ।’
दूधको मूल्य वृद्धिसँगै नेपालमा उत्पादित दूधजन्य सामग्रीको मूल्य १० प्रतिशतले वृद्धि भएको छ । जसका कारण विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको उनले बताए । प्रतिस्पर्धामा सस्तो मूल्यमा अरू देशको उत्पादनले उछिनेपछि नेपाली उत्पादन बिक्री नभएको हो । यसअघि नेपालमा उत्पादित छुर्पी युरोप र अमेरिका, दूध भारत र चीनको तिब्बत तथा घिउ जापान निर्यात हुँदै आएको थियो ।
यतिबेला दूध भारत निर्यात हुँदै गरेको भए पनि पहिलाको तुलनामा थोरै परिमाणमा मात्र भारतीय बजारबाट माग हुन थालेको हुनाले नेपालमा मिल्क होलिडे गर्नुपर्ने अवस्था आएको व्यवसायीको भनाइ छ । अहिले भारतमा दूधको मूल्य ५६ रुपैयाँ प्रतिलिटर छ भने नेपालमा ६६ रुपैयाँ रहेको उनले बताए ।
एशोसिएसनका महासचिव हेमचन्द्र खनालले यो वर्षभरि यही अवस्था रहेको खण्डमा नेपालका ८० प्रतिशत दूध उत्पादक कृषक पेशाबाट विस्थापित हुने बताए । उनले मूल्य वृद्धि फिर्ता लिने, योभन्दा बढी दूध उत्पादनमा रोक लगाउने, उत्पादनको बजारीकरणमा भूमिका खेल्नेलगायतको काम सरकारले तत्काल गर्नुपर्ने बताए ।
एशोसिएसनले दूधजन्य पदार्थको बिक्री नभएपछि आगामी महिनाबाट किसानको रकम भुक्तानी गर्नसमेत नसक्ने अवस्था आउने बताएको छ । हाल नेपालमा दैनिक ७ लाख लिटर दूधको कारोबार हुने गरेको छ भने कोशी प्रदेशमा ३ लाख लिटर कारोबार हुने गरेको छ ।
कार्यक्रममा एशोसिएसनका कोशी अध्यक्ष गङ्गाबहादुर खड्काले दूधको अस्वभाविक मूल्य वृद्धिले किसान र व्यवसायी पलायन हुने खतरा बढ्दै गएको बताए । उनले दूध खरिद गरेर छुर्पी बनाउँदै गरेकोमा अन्य देशले सस्तोमा उत्पादन गरेको छुर्पीले नेपाली उत्पादनलाई विस्थापन गर्न थालेको बताए । एशोसिएसनले पटक–पटक राज्यको सम्बन्धित निकायलाई सो विषयमा ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएको जनाएको छ । राज्यले समस्या समाधान गर्न विकल्पको रूपमा किसानलाई उत्पादन लागत कम गर्ने उपाय खोज्नुपर्नेमा अव्यावहारिक मूल्य वृद्धि गरेर दूधमा आत्मनिर्भर बन्दै गएको नेपालको बजारलाई तहस–नहस बनाउँदै लगेको उनीहरूको गुनासो छ ।