इनरुवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपति रामचन्द्र पौडेलको राजीनामा मागेका छन ।

जनताको नभई दलीय राष्ट्रपति बन्न खोजेको आरोप लगाउँदै थापाले राष्ट्रपति पौडेललाई अविलम्ब राजीनामा दिन सुझाएका हुन् ।

थापाले राष्ट्रपति पौडेल जनताको नभई मात्र दलको स्वार्थ पूरा गर्ने संस्था बनेको आरोप लगाए । थापाले राजनीति गर्न मन भए राजीनामा दिएर मैदानमा आउनसमेत राष्ट्रपति पौडेललाई चुनौती दिए ।

सुनसरी सदरमुकाम इनरुवामा आयोजित विरोध सभामा बोल्दै थापाले देशका अहिलेसम्मका कुनैपनि राष्ट्रपति देश र जनताप्रति उत्तरदायी हुन नसकेको धारणा राखे । कार्यक्रमलाई सम्बोधनका क्रममा थापाले वर्तमान सरकारलाई भ्रष्टाचारी सरकारको संज्ञासमेत दिए ।

राप्रपा अध्यक्ष थापाले प्रधानमन्त्रीदेखि ठूला दलका सबै नेता कमाउधन्दामा लागेको भन्दै विश्वका स्विसलगायत ठूला बैङ्कमा अर्बौं रकम कुम्ल्याएर लुकाइराखेको गम्भीर आरोपसमेत लगाए । 

उनले अहिलेको व्यवस्था फेल भइसकेको भन्दै राजासहित सबै अटाउने सनातन हिन्दु राष्ट्र अपरिहार्य भैसकेको बताए । जसका लागि एजेण्डा साथ आफूहरू  जनतामाझ गएको उनले बताए ।

राजनैतिक दलको खिचातानी र स्वार्थका कारण वाक्क भएका जनता आफूहरूले उठाएका एजेण्डाका पक्षमा जुट्ने उनको भनाइ छ । थापाले आफ्नो पार्टीको पक्षमा देशभरबाट जनलहर जुट्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

वर्तमान व्यवस्था ढुलमुलको अवस्थामा पुगेको बताएका थापाले सङ्घीयता छिट्टै ढल्ने बताए । उनले देशमा सबै जातजाति र धर्मलाई जोड्न सक्ने राजासहितको सनातन हिन्दु राष्ट्र बनाउन जनता सडकमा ओर्लनुपर्ने बताए । सोही अनुसार आफूहरू सडकमा आइसकेको उनले बताए ।

सम्बोधनकै क्रममा थापाले भारतीय प्रधानमन्त्री नेपाल भूमिमा आएर जाँदासमेत नेपाल सरकारले सुइँको नपाएको र चुपचाप केही बोल्न नसकेको भन्दै नेपाल सरकार समक्ष जवाफ माग गरेका छन् । उनले घटनाबारे नेपाल सरकारले औपचारिकरूपमा भारतलाई पत्राचार गरी धारणा माग गर्न हिम्मत हार्न नहुने धारणा राखे ।

पार्टीका जिल्ला अध्यक्ष चन्देश्वर चौधरीको अध्यक्षतामा सम्पन्न विरोध सभालाई पार्टीका केन्द्रीय उपाध्यक्ष तारानाथ लुइटेल, केन्द्रीय महामन्त्री राजेन्द्र मरवेता, सह–महामन्त्री तेजबहादुर कटवाल लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा गोपाल कोइरालालाई सम्मान गरिनुका साथै दर्जन बढी नेता कार्यकर्तालाई पार्टीमा प्रवेश गराइएको थियो ।