धरान । धरान–१८ स्थित डिपो स्कुलले हरेक वर्ष आयोजना गर्दै आएको ललित–अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियनको १८ औँ संस्करण आगामी मङ्सिरमा हुने भएको छ ।

सोमबार धरानमा पत्रकार सम्मेलन गर्दै आयोजक डिपो मा.वि.ले मङ्सिर १५ गतेबाट सुनसरी जिल्लास्तरीय ललित–अम्बर डिपो कप हुने भएको हो । दिलकुमार प्लेट च्याम्पियन भने पहिलो चरणमा पराजित भएका टिमहरूबीचमा खेलाइने प्रतिस्पर्धा हो ।

मङ्सिरको २२ गतेसम्म चल्ने प्रतियोगितामा यस पटक १६ वटा टिम मात्रै सहभागी गराइने आयोजक डिपो मा.वि.का प्राचार्य राजकुमार राईले जानकारी दिए । उनले १६ वटा टिम पूरा भएपछि अन्यलाई सहभागी नगराइने भएकाले ‘फस्ट कम फस्ट प्रायोरिटी’ रहेको बताए ।

प्रतियोगितामा विगतको झैँ कक्षा ५ सम्मका विद्यार्थी र उमेरको हकमा १२ वर्षभन्दा मुनिको हुनुपर्ने जनाइएको छ । विजेताले नगद ११ हजार एक सय ११ रुपैयाँ मेडल र ट्रफी पाउनेछ भने उपविजेताले नगद ७ हजार रुपैयाँ र तेस्रो हुने टिमले नगद ५ हजार रुपैयाँ र ट्रफी पाउनेछ । यता दिलकुमार प्लेट च्याम्पियनले भने नगद तीन हजार रुपैयाँ र रनरअपले नगद दुई हजार रुपैयाँसहित ट्रफी पाउने आयोजकले जनाएको छ । गत वर्षको ललित–अम्बर डिपो कप धरान–१३ को नेपाल प्रहरी स्कुलले जितेको थियो ।