असोज २५ गते बिहीबार धनकुटाको राजारानीबाट पक्राउ परेका तीनजना पहिचानवादीलाई पक्राउ गरिएको विरोधमा आज मंगलबारदेखि धनकुटा अनिश्चितकालीन बन्दको घोषणा गरिएको छ ।

प्रदेश नं.१ पुनःनामांकन संयुक्त संघर्ष समिति जिल्ला समन्वय समिति धनकुटाले पहिचानवादीलाई स्थानीय प्रशासनले सोमबार रिहा नगरेपछि बाध्य भएर आन्दोलनको घोषणा गरिएको जिल्ला संयोजक संजय सन्तोषी राईले बताए । यस अघि जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख पून्यविक्रम पौडेलले असोज–२५ गते राजारानीमा पक्राउ परेका पहिचानवादीलाई सोमबार रिहा गर्ने प्रतिबद्धता जनाएका थिए । 

तर, सोमबार प्रजिअ पौडेलले पहिचानवदीलाई नछाडेपछि अनिश्चितकालीन धनकुटा बन्दको घोषणा गरेको संघर्ष समितिका केन्द्रीय सचिवालय सदस्य कृष्ण चोङवाङले बताए । 

‘पटक–पटक समन्वय सहकार्य गर्दागर्दै पनि धनकुटा प्रशासनले हेपाहा प्रवृति देखाएकाले धनकुटा ठप्प पार्ने गरी आन्दोलन गर्नु परेको हो ।’ चोङवाङले भने, ‘हाम्रो साथीहरु विनाशर्त रिहा नभएसम्म धनकुटा बन्दको आन्दोलन जारी रहन्छ ।’

हिजो जिल्ला प्रशासन कार्यालयको मूलगेटमा आयोजित धनकुटा बन्द घोषणा कोणसभा पछि स्थानीय प्रशासनविरुद्ध आन्दोलनकारीले नारावाजी गरेका थिए । उनीहरुले धनकुटा बजारको विभिन्न भागमा नाराबाजी गर्दै मदनचोकमा पुगेर कोणसभा गरेका थिए ।

धनकुटाका पहिचानवादी नेताहरु मनकुमार याम्फू राई, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बूलाई प्रशासनले नियन्त्रणमा लिएको छ । उनीह ५ दिनदेखि जिल्ला प्रहरी कार्यालय धनकुटाको हिरासतमा रहेको बताइएको छ । धनकुटाको चौबिसेमा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको कार्यक्रम अवरोध गरेको उनीहरुमाथि आरोप छ ।