सुनसरी इटहरीका पत्रकार पिबी दियालीले उपचारमा सहयोग गरिदिन याचना गरेका छन ।
दुवै मिर्गाैला फेल भएकोले पत्रकार दियालीले उपचारका लागि सरकार, सामाजिक सङ्घ–संस्था र दाताहरूसँग सहयोगका लागि याचना गरेका हुन् । सुनसरीको इटहरीमा बसेर २९ वर्षदेखि सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार दियालीले आफनो दुवै मिर्गौला खराब भएको र उपचारका लागि आफूसँग आर्थिक हैसियत नभएकोले सहयोगका लागि अनुरोध गर्न बाध्य भएको बताए ।
आफू मिर्गौला रोगी भएकोले उपचारका लागि सहयोग गर्न पत्रकार महासङ्घ केन्द्रीय र प्रदेश समितिलाई अनुरोध गरिसकेको उनले बताए । पत्रकार दियाली उच्च रक्तचाप र मधुमेहका बिरामी पनि हुन् । लामो समय प्रेसर र डाइबिटिजको कडा औषधि सेवन गरेकै कारण आफ्नो मिर्गौला खराब भएको हुनसक्ने उनको भनाइ छ ।
४८ वर्षीय पत्रकार दियाली इटहरीबाट प्रकाशित गणराज्य साप्ताहिक र मकालु अनलाइनका प्रधान सम्पादक हुन् । उनले लामो समय धरानबाट प्रकाशित ब्लाष्ट दैनिकमा पत्रकारिता गरेका थिए । उनले इटहरीमा गणराज्य दैनिक पनि प्रकाशन गरेका थिए । पत्रकार दियालीकाअनुसार उनी सङ्कटकालको समयमा तीन महिना हिरासतमा परेका थिए । उनलाई ३ सय ३५ दिन नजरबन्दमा पनि राखिएको थियो ।
पत्रकार दियाली हाल नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समिति सदस्य तथा दलित विभाग संयोजक छन् । उनी नेपाल दलित पत्रकार सङ्घ र समाजवादी प्रेस सङ्गठनको केन्द्रीय सदस्य हुन् । उनले सम्पत्तिका नाममा आफूसँग इटहरीमा एउटा सानो घरमात्र भएको बताए ।