टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

पेश भएका सातवटा रिट निवेदनहरु दर्ता गर्दै सर्वोच्च अदालतले मङ्सिर ४ का लागि पहिलो पेशी तोकेको हो । सरकारको सो निर्णयविरुद्ध सर्वोच्चमा ८ वटा रिट दर्ता भएको छ ।  मङ्सिर ४ गते सो  मुद्दाको एक जना न्यायाधीशको एकल इजलासमा सुनुवाइ हुने जनाइएको छ ।

रिट निवेदन पेश गरेका कानून व्यवसायीहरुले तत्काल सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउनुपर्ने भनी अन्तरिम आदेशको मागसमेत राखेका छन् ।

सार्वजनिक शिष्टाचार विरुद्धका कसुरहरु धेरै भएको र टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्युनिकरण र दोषीमाथिको कारवाही प्रक्रियामा सहयोग नपुर्याएको भन्दै नेपालमा तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय लिएको थियो ।

गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सो निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट पुगेको हो ।