भद्रपुर । झापा मेचीनगरका सुस्त मनस्थितिका बस्नेत दाजुभाइलाई देशविदेशबाट सहयोग गरी नयाँ घर बनाइदिएका छन् ।
झापा मेचीनगर–३ स्थित दोकान डाँडाका छत्रबहादुर बस्नेत (ठूले) र प्रदीप बस्नेतको बिचल्ली देखेपछि स्थानीयको पहलमा देशविदेशको सहयोगबाट घर बनाइदिएका हुन् । उनीहरूका बुबाआमाको पहिले नै निधन भइसकेको छ । थोत्रो घरमा बस्नै नसक्ने अवस्था भएपछि स्थानीयको पहलमा बस्नेत परिवारलाई विभिन्न देशबाट सहयोग गरी घर बनाइदिएका थिए ।
स्थानीय तथा देश–विदेशमा रहेका युवाहरूले घर निर्माणमा सहयोग गर्न पहल गरे । स्थानीय नव ज्योति युवा क्लब, दोकानडाँडा र बाहुनडाँगी जेसिजका युवा तथा समाजसेवीहरूको पहलमा बस्नेत दाजु–भाइको घर निर्माण गर्न सुरु गरिएको थियो । नवज्योति युवा क्लबका अध्यक्ष एवम् घर निर्माण समितिका संयोजक सुमन थापाको नेतृत्वमा गत भदौ महिनामा बस्नेत दाजु–भाइको घर निर्माणको पहल भयो ।
बस्नेत दाजु–भाइ नै बसिरहेको टिन चुहिने छाना र टाटीको बेरा हटाएर सोही जग्गामा घर बनाउने गरी भदौ दोस्रो साता गाउँकै स्थानीय ज्येष्ठ नागरिक पञ्चवीर राई र धनकुमारी रायाले संयुक्त रूपमा शिलान्यास गरे । ज्येष्ठ नागरिकको सम्मान युवाको योगदान भन्ने नाराका साथ स्थानीय गाउँले, देश–विदेशमा रहेका युवा तथा विभिन्न समाजसेवीहरूले घर निर्माणमा सहयोग गरेका छन् । सिमेन्ट र इँटाले बनेको तीन कोठे घरको छानामा ट्रस लगाइएको छ ।
गत भदौ १६ गते बनाउन सुरु गरिएको घरमा केही दिनअघि एक कार्यक्रमकाबीच बाजागाजासहित बस्नेत दाजु–भाइलाई नयाँ कपडा लगाएर घरमा भिœयाइएको छ । घर निर्माणका लागि हालसम्म ६ लाख ५० हजार खर्च भइसकेको घर निर्माण समितिका सचिव देवु बानियाँले जानकारी दिए । घरमा विद्युत् जडानको काम भइरहेको छ भने पानीको धारा, शौचालय र रङरोगनको काम बाँकी रहेको उनले बताए । आगामी मङ्सिर ८ गतेभित्र घर निर्माणको सबै काम सकिने उनको भनाइ छ ।
कार्यक्रममा मेचीनगर–४ का पूर्व वडाध्यक्ष एवम् बाहुनडाँगी जेसीजका संस्थापक अध्यक्ष नवीन बराल, मेचीनगर–१० का वडासदस्य एवम् हरि हलेसी मेडिकलका सञ्चालक सोम ओझालगायतले शुभकामना व्यक्त गरेका थिए ।