धरान । नेपाल फोटो पत्रकार महासङ्घ सुनसरीले तिहारमा देउसी भैलो खेलेर सङ्कलन गरेको रकम सडक दुर्घटनामा परी घाइते भएका चालक सोम राईको उपचारका लागि १५ हजार आर्थिक सहयोग गरेको छ ।
स्पाइनल कर्ड इन्ज्युरी भई उपचाररत बसका चालक राईलाई औषधिको रकम बुझाउन समस्या भएपछि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले अभियान चलाइरहेकोछ । संगठनको सोही अभियानमा नेपाल फोटो पत्रकार महासङ्घ सुनसरीले नगद सहयोग गरेको हो ।
मङ्गलबार महासङ्घका अध्यक्ष विकास चाम्लिङले सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईलाई नगद हस्तान्तरण गरेका छन् । चालक राईकी श्रीमती सकुन राईको उपस्थितिमा रकम हस्तान्तरण गरिएको छ । रकम हस्तान्तरण गर्दै पत्रकार चाम्लिङले आफूहरूले प्रत्येक वर्ष देउसी खेलेर सङ्कलन भएको रकम सामाजिक कार्यमा सहयोग गर्दै आएको बताएका छन् ।
मजदुर नेता भीमज्वाला राईले चालकको उपचारमा सहयोग गर्न आग्रह गरेकाले उक्त रकममध्ये १५ हजार रुपैयाँ सहयोग गरेको बताएका छन् । सहयोग ग्रहण गर्दै सङ्गठनका अध्यक्ष राईले चालकको उपचार बापतको रकम १ लाख ५१ हजार ९ सय बाँकी रहेको बताएका छन् । आफूहरूले मजदुर, व्यवसायीबाट ३७ हजार सङ्कलन गरेको र त्यसमा फोटो पत्रकार महासङ्घको सहयोगपछि करिब ५२ हजार रकम जम्मा भएको बताएका छन् ।