धेरै युवामा विदेशप्रतिको मोह रहेपनि भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर– ६ कोटका महेन्द्र रसाइली पुख्र्यौली कालीगड पेसामा रमाउँदै आएका छन्।

पुख्र्यौली  पेसाको संरक्षणसँगै यसलाई पुस्तान्तरण गर्ने लक्ष्यले यो पेसालाई निरन्तरता दिएको उनको भनाइ छ। पराम्परागत भोजपुरे खुकुरी बनाउने पेसा सङ्कटमापर्ने अवस्था आएकाले यो पेसाको संरक्षणमा जुटेको रसाइलीले बताएका छन्। आफ्नो उद्योगमा उत्पादन भएको खुकुरी भोजपुर सदरमुकामसँगै स्थानीय बजारमा बिक्री गर्दै आएको उनको भनाइ छ। आफूले भोजपुरे, सिरुपाते, चित्लाङ्ले, कोथीमोडा लगायतका खुकुरी बनाउने रसाइलीको भनाइ छ। स्वदेशमा नै कालीगड पेसा गरेर परिवारको घरखर्च धान्दै आएको उनले बताए ।

“विदेशप्रतिको मोह त्यागेर पुख्र्यौली कालीगड पेसा गर्दै आएको छु” उनले भने,“हामी जस्ता नयाँ पुस्ताले संरक्षणमा ध्यान नदिने हो भने यो पेसा सङ्कटमा पर्ने अवस्था छ। यसको संरक्षण गर्दै नयाँ पुस्तासम्म सीप हस्तान्तरण गर्ने मेरो लक्ष्य छ ।”विभिन्न प्रकारका खुकुरी बनाउँदै आएको भए पनि मोफसलमा व्यवसाय सञ्चालन गरेकोले बजारीकरणमा केही समस्या रहेको उनको भनाइ छ। कतिपय खण्डमा मेहनत अनुसारको आम्दानी लिन समस्या हुने गरेको उनले बताए ।“पछिल्लो समयमा यो पेसाप्रति युवाको आर्कषण घट्दो छ” यो काम गर्न अलि बढी नै मेहनत पर्छ। दुर्गम ठाउँमा व्यवसाय सञ्चालन गरिरहेकाले बजारसम्म पुर्‍याउन अलि समस्या हुन्छ ।”

व्यवसाय सञ्चालनमा कच्चापदार्थ र बजारको समस्या रहेको उहाँको भनाइ छ। सामुदायिक वनबाट सहज रुपमा कोइला ल्याउन पाउने अवस्था नहुँदा समस्या हुने गरेको कालीगडको भनाइ छ। उत्पादन गरेको खुकुरीले पनि मेहनत अनुसारको मूल्य पाउन नसक्दा मानिसको यस पेसाप्रति रुचि घट्दै गएको उहाँले बताउनुभयो ।राज्यको तर्फबाट यसको विकास तथा संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

“समाजमा यो पेसालाई अझै पनि अपहेलनाका रुपमा लिने चलन छ”उनले  भने  ,“मेहनत गरे अनुसारको प्रतिफल लिन अलि समस्या नै छ। कच्चा पदार्थको अभाव छ। फलामको मूल्य बढ्दो छ । तर उत्पादित सामग्रीलाई सोचे अनुसारको मूल्यमा बिक्री गर्ने बजार छैन। विचौलियालाई बेच्नुपर्ने अवस्था छ। राज्यले उत्पादित वस्तुको सही मूल्य पाउने वातावरण निर्माणसँगै आवश्यक सहयोग गरे राम्रो हुने थियो।” 

दिनानुदिन कालीगड पेसा छाड्नेको सङख्या बढ्न थालेपछि प्रोत्साहनको कार्यक्रमलाई अघि बढाएको टेम्केमैयुङ– ६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालले जानकारी दिए। “पछिल्लो समय वडामा भएका कालीगड पलायन हुँदै गएको अवस्था छ” “अहिले हामी यो पेसाको संरक्षणमा जुटेका छौँ । गतवर्ष यहाँका कालीगडलाई  एक लाख बराबरको सहयोग गरेका छौँ ।”भोजपुरे खुकुरीले नाम कमाएको जिल्लामा कालीगड पेसा सङ्कटमा पर्दै गएपछि संरक्षणमा जुटेको उनले बताए ।

पेसामा लागेकालाई लक्षित गरेर प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको वडा कार्यालयको भनाइ छ। “विगतमा हाम्रो ठाउँमा कालीगढ धेरैको सङ्ख्यामा थिए”उनले  भने अहिले व्यावसायिक रुपमा यो काम गर्ने ६ सात घर मात्र छन्। संरक्षण गरिएन भने यो पेसा सङ्कटमा पर्ने अवस्था छ। त्यसैले हामीले केही सहयोग गर्दै आएका छौँ ।”