ख्रीष्ट जन्मोत्सवका अवसरमा धरानमा ख्रीष्टमस महोत्सव हुँदैछ । 'धरान ख्रीस्टमस महोत्सव - २०८०' आगामी पुस ६ र ७ गते हुने मूल आयोजक समितिको आज बसेको बैठकले टुंगो लगाएको छ ।

धरान र छिमेकी सहरका झण्डै २५ हजार ख्रीष्ट अनुयायीले संयुक्त रुपमा ख्रीष्ट जन्मोत्सवको अवसरलाई उत्सवका रुपमा मनाउने संयोजक रेभरेन्ट शामुएल राईले जानकारी दिए ।

महोत्सवका अवसरमा परम्परागत खानाका स्टल, नर्सरी र फलफूलका स्टल, सुसमाचारीय सांगीतिक कार्यक्रम साथै ख्रीष्टमस चियापान समाराेह आयोजना गरिने छ । महोत्सवका सह- संयोजक तथा धरान ख्रीष्टीय समाजका अध्यक्ष गोविन्द राईका अनुसार महोत्सवमा खेल सप्ताहअन्तर्गत अन्तर मण्डली मनोरञ्जनात्मक खेलकुदका कार्यक्रम गरिने छ । सोही अवसरमा सरसफाइ, रक्तदान, असहायलाई सहयोग, दीप प्रज्ज्वलन र झाँकी प्रदर्शन हुनेछ ।

विगत वर्षमा महोत्सवको आकर्षणका रुपमा रहेको एयरबलुन उडाउने, एलईडी ब्याच वितरण गर्ने, स्टिकर वितरण गर्नेलगायतका कार्यक्रमले समेत निरन्तरता पाउने छन् ।

महोत्सवको व्यवस्थापनका लागि रेभरेन्ट शामुएल राईको संयोजकत्वमा २३ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । महोत्सव सम्पन्न गर्न धरानका सबै चर्चले योगदान गर्ने महोत्सव आयोजक समितिका सचिव पास्टर विन्देश्वर चाैधरीले जानकारी दिए ।