पाँचथरमा धान रोप्नेक्रम घट्दै जाँदा यहाँका उब्जनी हुने खेत बाँझो हुन थालेका छन्। पहाडका फाँटमा यतिबेला धान काट्न र थन्क्याउन कृषकलाई भ्याइनभ्याइ छ। असारदेखि भदौ पहिलो सातासम्म रोपिने धान कात्तिकदेखि मङ्सिर दोस्रो साताभित्र पाकिसक्ने हुनाले यहाँका कृषक धान थन्क्याउने काममा व्यस्त छन्। तर विगतमा जस्तो सिँचाइको सुविधा भएका सबै खेतमा धान फलाउने क्रमभने घट्दै गएको छ । आकर्षक उब्जनी हुने बेंसीमासमेत धानखेती घट्दै गएको छ। 

यहाँका निबु खोला, खुङ खोला, हेंवा खोला, नाँवा खोला, सुभाङ खोला, इवा खोलाको सिँचाइ हुने फाँटमा धेरै धान उत्पादन हुने गर्दछ। प्रशस्तै धान उत्पादन हुँदा कतिपय कृषकले आफ्नै उत्पादनले वर्षदिन खान पु¥याउने गर्दथे  तर अहिले सो अवस्था क्रमशः घट्दै गएको छ। फिदिम नगरपालिका वडा नं १०, ११ र १२ का बासिन्दाले खेती गर्ने खुङ खोला क्षेत्रका आकर्षक खेत क्रमशः बाँझो हुँदै गएका छन्।

फिदिम–१० का टेकबहादुर हाङसरुम्बाले भने, “पहिले धान रोपिने ठाउँ जङ्गल भइसक्यो। मसिनो धान फल्ने ठाउँ जङ्गलले छिर्न नसकिने भयो। यहाँ काहीँ पनि हरियो जङ्गल थिएन।” हाङसरुम्बाका अनुसार जङ्गल बढ्दै जाँदा बाँदरका कारण भएका खेतमा पनि स्थानीयवासीले खेती लगाउन सकेका छैनन्। गाउँमा युवा नहुँदा पशुपालन पनि घटेको छ । जसको असर पनि धान खेतीमा परेको छ। “अहिले गोरु पाल्ने निकै कम मात्रै छौँ। अर्काको गोरु ल्याएर जोताउँदा धेरै खर्च हुने गर्छ”, हाङसरुम्बाले भने, “अहिले रोजगारी बढ्दै जाँदा खेतीमा काम लगाउने मान्छे भेटिँदैन। सिँचाइको पनि समस्या नै छ।”

फिदिम–१० कै भुवन जबेगु पनि हाङरुम्बाकै कुरामा सहमत जनाउँदै भन्नुहुन्छ, “हाम्रो खुङ खोलाको फाँट जिल्लाको सबैभन्दा उत्पादनशील ठाउँ हो। यहाँ निकै उब्जाउ हुने जमिन भएकाले  तीन बालीसम्म खेती हुन्थ्यो”, उनले भने,यो, “तर अहिले पहिलेको तुलनामा धान उत्पादन घटेको छ। एसएलसी पास गरेपछि युवामा विदेश जानुपर्छ भन्ने मानसिकता बढेको छ। जसकारण बालनाली लगाउन सहयोग पुर्‍याउने युवाको सङ्ख्या घटेको छ।

अहिले फाट्टफुट्टबाहेक एकै याममा मात्रै खेती हुने गरेको र खेत क्रमशः बाँझिदै गएको र परम्परागत खेतीपातीमा युवाको आकर्षण पटक्कै नहुँदा धानखेती घट्दै गएको हो ।”हिलिहाङका वीरेन्द्र मङ्ग्रातीले धानखेती घट्नुमा युवाको विदेश पलायन, बसाइँसराइ, सिँचाइको अभाव र धानखेतीमा प्रविधिको उपयोग हुन नसक्नु मुख्य कारण रहेको बताएका छन्।“धानखेतीमा प्रविधिको उपयोग र राज्यको लगानी छैन हिउँदे धानखेतीमा त राज्यको लगानी शून्य छ”, उनले भने, “मानिस क्रमशः प्रविधिमैत्री बन्दै जाँदा धानखेती परम्परागतरुपमै गर्नुपर्ने बाध्यता छ।” सरकारले धानखेती बढाउन बसाइँसराइ रोकथाम,सिँचाइ र प्रविधिमा थप लगानी गर्नुपर्ने मङ्ग्रातीको सुझाव थियो। 

“धानखेती घट्दै जाँदा खाद्य परनिर्भरता बढेको र यसले समाजलाई पनि गरीब बनाउँदै लगेको छ।अहिले गाउँघरमा हुने सबै आम्दानी चामल खरिदमा खर्च हुन थालेको छ । विगतमा निकै कम घर परिवारले मात्रै चामल खरिद गर्दथे”, उनले , यसैगरी मकै कोदोलगायत खाद्य बालीको उत्पादन र प्रयोग पनि घटेको छ। खाद्यान्नमा कोदो र मकै प्रयोग हुन्थ्यो। अहिले त्यसको सट्टामा पनि चामल प्रयोग गर्नाले चामलको खपत अत्यधिक बढेको छ। यसले समाजलाई गरिब बनाउँदै लगेको छ । ”

कृषि ज्ञानकेन्द्रको तथ्याङ्कले पनि जिल्लामा धानखेती घट्दै गएको देखाउँछ। गत वर्ष जिल्लामा आठ हजार नौ सय २६ हेक्टर जमिनमा धानखेती भएको थियो। यस वर्ष धान खेती हुने क्षेत्र गत वर्षभन्दा दुई सय ७६ हेक्टर कम भएको छ। ग्रामीण अर्थतन्त्रलाई सबल बनाउने बलियो माध्यम धानखेती भए पनि यस विषयमा स्थानीय सरकारले स्पष्ट नीति र कार्यक्रम तय गर्नसमेत सकेको छैन।