धनकुटा । तामाङ पत्रकार सङ्घको २० औँ स्थापना दिवसको अवसरमा धनकुटामा ‘नेपाली पत्रकारिता र तामाङ पत्रकार’ विषयक एक दिने अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएकोे छ ।
तामाङ पत्रकार सङ्घ जिल्ला समिति धनकुटाले २० औँ स्थापना दिवसको अवसर पारेर ‘नेपाली पत्रकारिता र तामाङ पत्रकार’ विषयक एक दिने अन्तरक्रिया तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको समुद्घाटन घेदुङका निवर्तमान सङ्घीय सदस्य लालचन्द्र गोङ्वा तामाङले केक काटेर गरेका थिए ।
अन्तरक्रिया तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाली पत्रकारिताभित्र सबैखाले जाति र समुदायका पत्रकारहरूले फल्नफुल्न पाउनु पर्नेमा जोड दिए । उनीहरूले नेपाली पत्रकारितामा तामाङ पत्रकारहरूले पुर्याइरहेको योगदान र निर्वाह गर्नुपर्ने भूमिकाको बारेमा समेत चर्चा गरे ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङका निवर्तमान सङ्घीय सदस्य लालचन्द्र गोङ्वा तामाङले पत्रकार भनेको समाजको ऐना भएको बताए । गोङ्वाले भने, ‘तामाङ समुदायको भाषा, संस्कार, संस्कृतिलाई युगयुगसम्म जोगाइराख्न तामाङ पत्रकारले कलम चलाइराख्नु पर्छ ।’ उनले तामाङ पत्रकारहरू भनेजस्तो उत्पादन गर्न नसकिरहेको अवस्थामा २० औँ स्थापना दिवसले थप सहयोग पुर्याओस् भन्दै शुभकामना दिए ।
त्यसैगरी तामाङ पत्रकार सङ्घका १ नम्बर प्रदेश समितिका संस्थापक अध्यक्ष एवम् फोनिजका प्रदेश अध्यक्ष सन्तवीर लामाले नेपाली पत्रकारितामा तामाङ पत्रकारहरूले पुर्याइरहेको योगदानको चर्चा गरे । सो अवसरमा उनले १ नम्बर प्रदेशमा तामाङ पत्रकारहरूको अवस्था र क्रियाशीलताको विषयमा पनि चर्चा गरे । उनले नेपाली पत्रकारितासँगै तामाङ पत्रकारिताको विकासमा बाटो देखाउने अग्रज तामाङ पत्रकारहरूको योगदान र भूमिकाको विषयमा समेत चर्चा गरेका थिए ।
किरात राई पत्रकार सङ्घका केन्द्रीय सदस्य नरेन्द्र कश्चितले नेपाली पत्रकारिताको चेतनाको दियोमा तेल भर्ने काममा योगदान गर्न तामाङ पत्रकारहरूले सकून् भन्दै २० औँ स्थापना दिवसको अवसरमा शुभकामना दिए ।
‘नेपाली पत्रकारिता र तामाङ पत्रकार’ भन्ने मूल नाराको साथ आयोजना गरिएको अन्तरक्रिया तथा शुभकामना आदान–प्रदान कार्यक्रममा पाख्रीबास नगरपालिका वडा नं.७ का वडाध्यक्ष देवेन्द्र तामाङ, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाका अध्यक्ष पेमाकुमारी लामा, तामाङ पत्रकार सङ्घकी केन्द्रीय सदस्य एवम् प्रदेश इन्चार्ज मानवी मोक्तान, प्रेस सेन्टरका प्रदेश सचिव ईश्वर थापा, साहित्यकार केजी सुब्बा, समाजसेवी यज्ञ घिसिङ तामाङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम जिल्ला अध्यक्ष चन्द्रमाया तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।