महिला हिंसाविरुद्धको १६ दिने अभियानको समापनको अवसरमा आइतबार आयोजित अन्तरसरकारी तथा सामुदायिक मा.वि. र कलेजस्तरीय महिला वक्तृत्वकला प्रतियोगितामा पब्लिक हाईस्कुलकी कञ्चन खतिवडा प्रथम भएकी छन् ।

‘लैङ्गिक हिंसा न्यूनीकरणमा युवाको भूमिका शीर्षकको वक्तृत्वकला प्रतियोगितामा खतिवडा प्रथम हुँदै नगद ७ हजार रुपैयाँ पाइन् । १३ जना प्रतिस्पर्धी सहभागी भएको प्रतियोगितामा शारदा बालिका नमुना मा.वि.की अनुष्का राई दोस्रो, पूर्वाञ्चल इन्जिनियरिङकी युनिका गौतम तेस्रो र सरस्वती मा.वि. पानबारीकी विपना मगराती सान्त्वना भए । उनीहरूले क्रमशः नगद ५, ३ र २ हजार रुपैयाँसहित प्रमाण–पत्र पाएको आयोजक महिला सञ्जाल धरान नगरसचिव इन्द्रकला राईले जानकारी दिइन् ।

कार्यक्रममा निर्णायकका रूपमा महिला सञ्जाल धरान समितिका सल्लाहकार सुनिल नेपाल, महेन्द्र बहुमुखी क्याम्पसकी उप–प्राध्यापक डा. अस्मिता विष्ट र ब्लाष्ट टाइम्स दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठ रहेका थिए । सहभागीको प्रस्तुतीकरण, हाउभाउ, तार्किकशैली, विषयवस्तुको स्पष्टता र भाषाशैलीमा अङ्क विभाजन गरी निर्णय गरिएको निर्णायकमध्येका उप–प्राध्यापक डा. विष्टले बताइन्् । लैङ्गिक हिंसामा महिला, पुरुष, एलजीबिटीआइक्यूमाथिको सांस्कृतिक, आर्थिक, राजनीतिक, यौनिक सबै खालका अधिकारमाथि हनन् हुने कुरा पर्ने उनले बताइन् ।

विजेताहरूलाई नगदसहित प्रमाण–पत्र धरान उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघा, महिला सञ्जाल धरान अध्यक्ष सपना राई, महिला अधिकारकर्मी चेतना श्रेङलगायतले पुरस्कार वितरण गरेका थिए । उपप्रमुख बेघाले लैङ्गिक हिंसा न्यूनीकरण गर्नका लागि सबैको सक्दो सहयोगको आवश्यक रहेको बताए । विद्यार्थीहरूको प्रस्तुतिबाट पनि विभिन्न तथ्यहरू आएकाले त्यसलाई चिर्न सबैको सक्दो सहयोग र पहल आवश्यक रहेको बताए ।

कार्यक्रममा महिला सञ्जालका पूर्वअध्यक्ष मीना पुलामी, शीला बज्राचार्य, सविता राईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम मानवअधिकारको लागि महिला एकल महिला समूहको आयोजना र महिला सञ्जाल धरान नगरसमितिको सह–आयोजनामा भएको थियो । हरेक वर्षको नोभेम्बर २५ तारिखबाट सुरु भई मानवअधिकार दिवसको दिन पारेर १६ दिने अभियान सम्पन्न गर्ने गरिएको छ ।