भद्रपुर । झापाको मेचीनगरस्थित धार्मिक एवम् पर्यटकीयस्थल पाउ पाथीभरा उत्तरगङ्गा प्रवेशद्वार पर्यटन प्रवद्र्धन समितिले एक वर्षमा एक करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ ।
समितिको आर्थिक वर्ष २०७९र०८० को स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदनअनुसार सो वर्ष एक करोड ३३ लाख ४५ हजार ३ सय ९३ रुपैयाँको कारोबार गरेको छ । आजीवन सदस्य, पुँजीगत सहयोग अनुदान, सहयोग प्राप्त, दानपेटिकाबाट, जिन्सी सामग्री बिक्री, टीका भेटी, गरगहनालगायतका स्रोतबाट समितिले आर्थिक कारोबार गरेको समितिका कोषाध्यक्ष प्रकाश बास्तोलाले जानकारी दिए । समितिमा हुने खर्च घटाएर बैङ्क मौज्दात ४८ लाख ८० हजार ८ सय ८ तथा नगद मौज्दात ७६ हजार ८ सय १८ गरी कुल ४९ लाख २७ हजार ६ सय २६ रुपैयाँ रहेको समितिका सह–सचिव अर्जुनकुमार थेवेले जानकारी दिए ।
हरेक साताको शनिबार र मङ्गलबार पाउ पाथीभरा उत्तरगङ्गा प्रवेशद्वार पर्यटन क्षेत्रमा पूजापाठ र पाथीभराको दर्शन गर्न आउने भक्तजनको भीड लाग्ने समितिका अध्यक्ष तिलकप्रसाद गिरीको भनाइ छ । जिल्लाभित्र धार्मिक आस्था र संस्कृतिको धरोहरको रूपमा चिनिएका पुरातात्वक महत्वका स्थलहरू धेरै रहेका र तीमध्ये काँकडभिट्टादेखि १२ किलोमिटर पश्चिम र बिर्तामोडदेखि ६ किलोमिटर पूर्वमा रहेको मेचीनगर चारआलीको आफ्नै महत्व रहेको अध्यक्ष गिरीको भनाइ छ ।
नेपाल बहुभाषिक, बहुधार्मिक एवम् बहुसांस्कृतिक विविधताले भरिपूर्ण देश नेपालमा विभिन्न धार्मिक आस्था र संस्कृतिको धरोहरका रूपमा विभिन्न धार्मिक तीर्थस्थल एवम् पर्यटकीय क्षेत्रहरू रहेको उनको भनाइ छ । हजारौँको सङ्ख्यामा आन्तरिक एवम् वाह्य पर्यटकहरूलाई आकर्षण गर्दै आइरहेको र पाथीभरा नामसँग जोडिएका धार्मिक स्थल पर्यटनको लागि एउटा गतिलो गन्तव्य बन्न सकेको समितिको दाबी छ ।
दुर्लभ वटवृक्ष, आकर्षक एवम् विभिन्न देवीदेवताका आकृति नवद्वारले भरिपूर्ण, हेर्दै देवीदेवताको बास रहेको अनुभूति हुन्छ । त्यस अनौठो वृक्षलाई समाजका अगुवा धार्मिक व्यक्तित्व, गुरु, पुरोहित, साधु, सन्त एवम् समाजका लब्ध प्रतिष्ठित व्यक्ति, १००८ श्रीजगत्गुरु बालसन्त मोहनशरण देवाचार्य, श्री १००८ महामण्डलेश्वर हेमानन्द गिरीजी महाराज, व्यासाचार्य धर्मगुरु श्री किशोर गौतम, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वमन्त्री महेश आचार्य, शङ्कर भण्डारी, साहित्यकार, समालोचक मोदनाथ प्रश्रित, सांसद्हरू, नेतागण, जगन्नाथ पुरी पीठाधीश अनन्त विभूषित जगत्गुरु शङ्कराचार्य स्वामी श्री निश्चलानन्द सरस्वतीजी महाराजको २०७९ साल वैशाख ८ गतेका दिन धाममा आगमनलगायत विभिन्न समयमा गरी हजारौँ दर्शनार्थीहरूको उपस्थिति भइसकेको यो स्थान शक्तिपीठको केन्द्र भएको छ र सबै भक्तहरूको अवलोकनबाट वृक्षमा अलौकिक दैवीशक्ति रहेको बताइएको छ ।
विभिन्न धर्मग्रन्थमध्ये पुराणहरूमा वर्णन भएअनुसार देवीको दोस्रो पाउ मैदानी भागमा पर्न गएको उल्लेख छ । वृक्षमा देवीको नौ द्वार एवम् पाउको आकृति पनि स्पष्ट देखिने भएको हुँदा यसक्षेत्रलाई पाउ पाथीभराका रूपमा लिनुपर्ने धार्मिक मान्यता भएअनुसार यो स्थल पाउ पाथीभरा मन्दिर क्षेत्रमा परिणत भएको छ । यसक्षेत्रमा रहेको फूलबासा नदी करिब १ सय मिटर उत्तरमा बगेको छ । धर्मग्रन्थ अनुसार उत्तरवाहिनी नदीको महत्व रहेको व्याख्या गरिएको छ । यसको संरक्षणको लागि कदम उठाउनु आवश्यक ठानेर सामाजिक, सांस्कृतिक, धार्मिक र वातावरणीय सम्पदाको पहिचान र संरक्षण गर्न सम्बन्धित नगरपालिकासँग माग गरिएको छ ।