अरुण नदीको पानी लिफ्ट प्रविधिमार्फत सातटार बस्तीमा पुगेपछि  वषौँदेखिको पानीको समस्या हटेको छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले एक हजार पाँच सय मिटर तल उचाइमा अरुण नदीको पानी सोलार लिफ्टमार्फत बस्तीमा पुर्‍याएपछि स्थानीयले सुखको श्वास फेरेको सातटारेका स्थानीयवासी गजेन्द्र कटुवालले बताए ।

आर्थिक वर्ष २०७७/७८ बाट निर्माण थालिएको आयोजनाको कुल लागत  तीन करोड ३७ लाख ५८ रहेको कार्यालयले जनाएको छ। कार्यालयले सङ्खुवासभाको चैनपुर नगरपालिका– ११ मा खहरे सातटारे सोलार लिफ्ट आयोजना सञ्चालन गरेर यहाँका ६४ घर परिवारलाई पानी वितरण गरेको छ। 

घण्टौँ लगाएर खोलाखोल्सी तथा अरुण नदीबाट डोकोमा बोकेर पानी खाइरहेको अवस्थामा बस्तीमा पानी पुग्दा खुसी लागेको कटुवालको भनाइ छ। “सुक्खा क्षेत्र भएकाले यहाँ पानीको अतिनै समस्या थियो”, उनले  भने,, “खोला खोल्सी र कुवाबाट पानीको जोह गर्दै आएका थियौँ । कुवा पनि सुक्न थालेको अवस्था छ। अब भने हाम्रो वषौँको समस्या अन्त्य भएको छ ।” 

स्थानीयले भोगिरहेको पानीको समस्या अन्त्यका लागि प्राथमिकताका साथ योजना निर्माण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले बताए।

 योजनाको मुख्य काम सकिएर वितरण सुरु भएको र उपभोक्ता समितिलाई हस्तान्तरणको तयारी गरिएको प्रमुख सिंहको भनाइ छ। “योजनाको मुख्य काम सकिएको छ”, प्रमुख सिंहले भने, “सबै काम सकिएर बस्तीमा पानी वितरण थालिएको छ । बाँकी साना काम सम्पन्न गरी  समितिलाई हस्तान्तरण गर्ने छौँ ।”

सोलार लिफ्ट आयोजना सुरुमा खर्चिलो भए पनि दीर्घकालीन हिसाबले मितव्ययी भएको उनको भनाइ छ। खानेपानीका लिफ्ट प्रकृतिका योजना सञ्चालन गर्दा प्रदेश तथा केन्द्र सरकारले सोलार प्रविधिको लिफ्ट आयोजनालाई प्राथमिकता राख्नुपर्ने उनको सुझाव छ।

“यो योजना सोलार प्रविधिबाट सञ्चालन गरिएको हो”, प्रमुख सिंहले भने, “यस्ता खालका योजना सञ्चालनले उपभोक्ता समितिले बढी महसुल तिर्नुपर्दैन । एक पटक खर्च गरेपछि विद्युत् जस्तो धेरै खर्चिलो हुदैन। सरकारले विद्युतीय भन्दा पनि सोलार प्रविधिलाई जोड दिन आवश्यक छ ।”

बस्तीमा पानीको हाहाकार भइरहेको अवस्थामा योजना सञ्चालनले दैनिक जीवनमा परिवर्तन आएको निर्माण उपभोक्ता समितिले जनाएको छ । योजनाको सम्पूर्ण काम सकेर ६४ घरपरिवारमा पानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष सूर्यबहादुर कटुवालले बताए । उपभोक्ता समितिको चौकीदार बस्ने घरसमेत निर्माण गरिएको छ। योजनाको करिब सम्पूर्ण काम अन्तिम चरणमा रहेको अध्यक्ष कटुवालको भनाइ छ।

“पानीको अभावमा यहाँको बस्ती नै खाली हुने अवस्था थियो”, अध्यक्ष कटुवालले भने “अरुण नदीबाट धमिलो पानी डोकोमा बाकेर खानुपर्ने अवस्था थियो । तर अब पानीको अभावमा भौतारिनुपर्ने अवस्थाको अन्त्य भएको छ। बस्तीमा पानी वितरण थालेका छौँ। योजनाको काम लगभग सकिएको अवस्था छ ।”