नेपाल पत्रकार महासंघ सुनसरी शाखा कार्यालय सचिव तथा कपुरीन्युज अनलाइनमा कार्यरत रश्मि प्रधानमाथि भएको हातपातको घटनाप्रति नेपाल पत्रकार महासङ्घ सुनसरीले कारबाहीको माग गरेको छ ।
यस्तै कृयाशील पत्रकार महिला सुनसरीले समेत घटनमा सलग्न दोषीलाई कारबाहीको माग गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको स्मान गर्न माग गरेको छ ।
पत्रकार प्रधानलाई धरान डेको मेलाको विषयमा पब्लिक स्कुलमा स्टल बनाइरहेको ठाउँमा झगडा हुँदै गरेको बेला रिपोर्टिङका क्रममा भिडियो खिचेको भन्दै धरान उपमहानगरपालिका कार्यपालिका सदस्य विकास भाटीले हातपात गरेको घटना सार्वजनिक भएको थियो ।
सार्वजनिक सरोकारका विषयलाई समाचार बनाउने क्रममा पत्रकारलाई कुनै पनि सार्वजनिक पदधारी व्यक्ति वा सार्वजनिक निकायबाट सहयोग हुनुपर्ने व्यवस्था कानुनले निर्दिष्ट गरे पनि त्यसलाई बेवास्ता गर्दै कार्यपालिका सदस्य भाटीबाट प्रधानमाथि भएको सो हर्कत अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती भएको महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासंघ जिल्ला शाखाले घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याएर पत्रकारको संविधानप्रदत्त अधिकारको सम्मान गर्न ध्यानाकर्षण गराएको छ ।

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) सुनसरीले विज्ञप्ति जारी गर्दै सदस्य प्रधानमाथि भएको हातपातको घटनाले संविधानले व्यवस्था गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् हुनुको साथै जनताले सूचना पाउने अधिकारबाट समेत बञ्चित हुन पुगेको उल्लेख गरेको छ । साथै पत्रकार महिलाहरु दिनदहाडै जनप्रतिनिधिबाट असुरक्षित रहेको समेत क्रियाशील पत्रकार महिला सुनसरीले ठहर गर्दै दुःख व्यक्त गरेको छ ।

धरान-१२ स्थित पब्लिक हाई स्कुलको खेल मैदानमा धरान डे उत्सवको स्टल व्यवस्थापन सम्बन्धि रिपोर्टिङ गर्ने क्रमम हिजो दिउँसो करिब ३:३० बजे धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य विकास भाटीले किन भिडियो खिचेको ? भन्दै मोबाइल खोसेर दुर्व्यवहार र हातपात गर्ने प्रयास गरेको  डब्लुडब्लुजेले उल्लेख गरेको छ ।