धरान । यही पुस २५ र २६ गते धरान–२० स्थित विष्णुपादुका मन्दिरमा हुन गइरहेको मेलालाई मध्यनजर गर्दै ट्राफिक व्यवस्थापन र बाटोको स्तरीकरणका लागि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजकुमार निरौलाको नेतृत्वमा एउटा टोली अवलोकनका लागि बिहीबार त्यसतर्फ गएको छ ।
पितृ श्राद्धको लागि चर्चित उक्त मन्दिरमा करिब दुई लाख जति तीर्थालुहरू आउने आँकलन गरिएको छ र सोही मेलालाई लक्षित गर्दै निरौलाको नेतृत्वमा सुनसरी क्षेत्र नं. १ का प्रदेशसभा सदस्य रमेश बस्नेत, विजय राई, पूर्व सांसद् जयकुमार राई, नगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघा, पूर्वेली कोशी सार्वजनिक यातायात प्रा.लि.का अध्यक्ष सरोज श्रेष्ठ, महासचिव कृष्ण कार्कीलगायत व्यक्तित्वहरू अवलोकनमा सहभागी भएका हुन् ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्ल, उद्योग वाणिज्य सङ्घ सुनसरीका अध्यक्ष विजय श्रेष्ठ, ब्लाष्ट टाइम्सका सम्पादक किशोरकुमार कार्की, कोशी बस व्यवसायी तथा यातायात सेवा प्रा.लि.का उपाध्यक्ष राजमणि निरौला र दुर्घटना संयोजक बाबुराम कार्की, मन्दिर व्यवस्थापन समितिका सचिव केशव रिजाल, सदस्य दिनेश अग्रवाल, ट्राफिक इन्स्पेक्टर सुभाष केसी, ट्राफिक हवल्दार दीपराज अधिकारी सहभागी भएका हुन् ।
सो मेलामा पितृ श्राद्धका लागि आउने भारत र नेपालका श्रद्धालुहरूलाई निःशुल्क खानाको व्यवस्था गरिएको जानकारी दिनुका साथै समितिका अध्यक्ष निरौलाले मेलामा उपस्थितिका लागि अनुरोध गरेका छन् । यातायात आवागमनमा समस्या नहोस् भन्ने हेतुले बाटोको व्यवस्थापन गर्न सो टोलीलाई सरोज श्रेष्ठ र राजकुमार निरौलाले समन्वय गरेका थिए ।
कच्ची बाटो स्तरीकरणका लागि धरान उपमहानगरपालिकाले स्काभेटर र २ सय ५० लिटर डिजल उपलब्ध गराउने भएको छ भने प्रदेश सभासद्हरूले पनि सहयोगका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउने जनाए । मेला अवधिभर एकतर्फी बाटो र सवारी साधन पार्किङको व्यवस्था गरिने ट्राफिक इन्स्पेक्टर सुभाष केसीले जानकारी दिए ।