वराहक्षेत्र चतरास्थित आदर्श मा.वि.ले जग्गा सीमाङ्कन गरेको छ । दशकौंदेखि विद्यालयको जग्गामा बसेको बजार र बसपार्क अवस्थित जग्गा सीमाङ्कन गरेको हो । विद्यालयले स्थानीयको नम्बरी जग्गा र सुनसरी–मोरङ सिंचाइ आयोजनाको बीचमा रहेको अव्यवस्थित जग्गा पिल्लर लगाएर बुधबार सीमाङ्कन गरेको छ ।
विद्यालय व्यवस्थापन समिति अनिर्णित हुँदा दशकौंदेखि चतरा बजार सौन्दर्यीकरणमा समस्या आइरहेको छ । स्थानीय सरकारसमेतले लगानी गरी सौन्दर्यीकरण गर्न नसक्ने र विद्यालय व्यवस्थापन समितिसमेत उदासिन हुँदा बजार अव्यवस्थित रहिआएको छ ।
जग्गा सीमाङ्कनपछि विद्यालयले व्यवस्थापन समिति, जग्गा नक्साङ्कन समिति, शिक्षक अभिभावक समितिलगायत सरोकारवालाको बैठक बसी चतरा बजारलाई सौन्दर्यीकरणसहितको व्यवस्थापन गर्ने निर्णय गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादव गौतमले जानकारी दिए । सुनसरी जिल्लाकै पुरानो व्यापारिक केन्द्र हाल न्यून आर्थिक चहल–पहलका कारण अधोगतिउन्मुख चतरा बजार शून्य सौन्दर्यीकरणका कारण थप विकृत बन्दै गएको छ । स्थानीय आदर्श मा.वि.को निजी जग्गामा बसेको वराहक्षेत्र नगरपालिकास्थित चतराको मुख्य बजार विकास नहुँदा दशकौंदेखिको विकृत रूप फेरिन सकेको छैन ।
साविक वराहक्षेत्र गाविस वडा नं. ३ मा रहेको विद्यालय हाल नगरपालिका गठन भएपछि २ नं. वडामा पर्छ । १६ कठ्ठा १७ धुर रहेको विद्यालयको जग्गामा हाल चतरा बसपार्क रहेको छ । बसपार्क वरपर घर र पसल गरी ३२ वटा साना–ठूला संरचना रहेका छन् । विद्यालय व्यवस्थापन समितिले जग्गाको वहाल कर उठाउन थालेको झण्डै एक दशक भयो । त्यसअघि जग्गा बेवारिसे अवस्थामा रहँदा आफूखुसी व्यापार व्यवसाय गर्नेले भोगचलन गर्दै आएका थिए । विद्यालयले कुनै व्यवसायी र संरचनाधनीसँग सम्झौता र समझदारीसमेत नगरेको स्थानीय बताउँछन् । हाल विद्यालयले ठेक्कामार्फत् संरचनाधनीसँग मासिक १ हजार ५ सय रुपैयाँ सङ्कलन गर्दै आएको छ ।
‘पक्की संरचना निर्माण हुँदासम्म विद्यालय व्यवस्थापन समिति मौन रहेका कारण जग्गाको भोगचलन बढ्दै गएको हो’ वराह युथ क्लबका अध्यक्ष साजन राईले भने, ‘बजारको सौन्दर्यीकरण गर्न न स्थानीय सरकारको नीति छ, न विद्यालय व्यवस्थापनले आवश्यक काम गर्न सकेको छ ।' विद्यालयले कर उठाए पनि आफ्नो जग्गा संरक्षण गर्न र आर्थिक सुदृढीकरण गर्न कुनै चासो नदिएको दशकौंदेखि बेवारिसे बनेको जग्गामा व्यापार–व्यवसाय गरिरहेका स्थानीय बताउँछन् ।
व्यावसायिक भवन, सटरहरू निर्माणगरे बजार व्यवस्थितसमेत हुने व्यवसायीको मत छ । आदर्श मा.वि.ले आफ्नो स्वामित्वमा रहेको जग्गामा सीमाङ्कनसहित बजार व्यवस्थापन गर्ने निर्णय गरेपछि बुधबार सीमाङ्कन गरिएको हो । व्यवस्थापन समितिले सीमाङ्कन गरेपछि बजार सौन्दर्यीकरण हुने स्थानीयमा आशा पलाएको छ ।