झापाको बाहुनडाँगीमा स्थानीय बालीको संरक्षण र हात्तीबाट बचाउन सकिने बालीको विस्तार गर्ने उद्देश्यले ‘दोस्रो मेचीनगर तरुल उत्सव’ हुने भएको छ। आगामी माघ १ गते मेचीनगरमा तरुल उत्सव हुन लागेको हो ।
मेचीनगर नगरपालिका वडा नम्बर –४ का अध्यक्ष अर्जुन कार्कीले वडाले गत वर्षदेखि उत्सवको आयोजना गर्न थालेको बताएका छन्। परम्परागत रूपमा सबै समुदाय र भूगोलका नेपालीले खाने तरुलका विभिन्न प्रजाति उत्सवमा प्रदर्शनी गरिने उनले जानकारी दिएका छन्।
“हाम्रा परम्परागत खानेकुरामा तरुलको ठूलो महत्व छ। मानव जातिले जङ्गली जीवनदेखि नै तरुल, गिठ्ठा र भ्याकुर खाएर सभ्यतालाई अघि बढाएका थिए”, वडाध्यक्ष कार्कीले भने, “हामीले अग्र्यानिक र ग्रामीण खानेकुराको संरक्षण र प्रचारमा सबैको ध्यान जाओस् भनेर उत्सवको आयोजना गरेका हौँ।”
उनले कमल गाउँपालिका वडा नम्बर –२ समयगढका किसान कर्णबहादुर गुरुङले फलाएको एउटै १६ केजीको सिमल तरुल समेत प्रदर्शनमा राखिने जानकारी दिएका छन्।
वडाध्यक्ष कार्कीका अनुसार उत्सवमा घर, वन, सिमल, सिठुनीलगायत विभिन्न प्रजातिका तरुल राखिने छन्।