धनकुटा । विपद्बाट पूर्णरूपमा क्षति भएका निजी आवास पुनः निर्माणको लागि धनकुटामा भुक्तानी भएको १८ लाख, ७५ हजार रुपैयाँ रकम जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले शुक्रबार अनुमोदन गरेको छ ।
बैठकले २०८० पुस १९ गतेसम्म विपद्बाट पूर्णरूपमा क्षति भएका छ घरपरिवारलाई तत्काल उपलब्ध गराएको एक लाख १० हजार रुपैयाँ पनि अनुमोदन गरेको छ । त्यस्तै निजी आवास पुनः निर्माणको दोस्रो किस्ता र अन्तिम किस्ताबापतको छथर जोरपाटी गाउँपालिकाका १२ जना लाभग्राहीलाई भुक्तान भएको १४ लाख ८२ हजार पाँच सय तथा धनकुटा नगरपालिकामा भुक्तान भएको दुई लाख ८२ हजार पाँच सयको पनि बैठकले अनुमोदन गरेको छ ।
त्यसै गरी डढेलो नियन्त्रणको लागि आवश्यक सामग्री डिभिजन वन कार्यालय धनकुटाले जिल्लास्थित सुरक्षा निकायलाई उपलब्ध गराउने बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।
डढेलो नियन्त्रणका लागि आवश्यक सामाग्री दुई सेटका दरले जिल्लास्थित सुरक्षा निकायलाई हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय धनकुटाका प्रमुख भरतबाबु श्रेष्ठले जानकारी दिए । बैठकले पालिकास्तरमा डढेलो नियन्त्रण गर्न सञ्जाल गठन गर्ने, विभिन्न सञ्चार माध्यमबाट सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय भएको प्रजिअ पौडेलले जानकारी दिए ।