स्कुलमा फोटो खिचाउन लैजाने बहाना बनाएर मोरङको जहदा गाउँपालिकाका तीन युवाले वडाध्यक्षका छोरा अपहरण परेको खुलेको छ ।
प्रहरीले जहदा गाउँपालिका-१ का वडाध्यक्ष बाबुराम राजवंशीका १० वर्षीय छोरा धनीधर राजवंशीलाई अपहरण गरेको आरोपमा तीन जना पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो।
इलाका प्रहरी कार्यालय रानीले बालक अपहरण गरेको आरोपमा जहदा-१ का २० वर्षीय अभिषेक यादव, १९ वर्षीय मिथिलेशकुमार यादव र विराटनगर-१८ का २१ वर्षीय विवेकानन्द यादवलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। प्रहरीले अपहरण गराउने मुख्य व्यक्तिलाई भने अहिलेसम्म पक्राउ गरेको छैन । उसको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
अपहरणमा परेको भनिएका बालक धनीधर मङ्गलबार दिउँसो २ बजे घरदेखि करिब १ सय मिटरमा रहेको चौरमा खेलिरहेका थिए। उनलाई अपहरण गराउने मुख्य व्यक्तिको पहिचान नखुले पनि पक्राउ परेका मिथिलेशकुमारलाई उनले चालकलाई विराटनगरसम्म ल्याउन लगाएको बयानबाट खेलेको प्रहरीले जनाएको छ ।
बिराटनगर ल्याएबापत मिथिलेशकुमारलाई एक हजार रुपैयाँ दिने अपहरणकारीले भनेका थिए । त्यसैअनुसार बालकलाई विराटनगर ल्याउन मिथिलेशले अभिषेक र विवेकानन्दलाई प्रयोग गरेको खुलेको प्रहरीले जनाएको छ। 'उनीहरूलाई पनि जनही १-१ हजार दिने अपहरणकारीले सर्त राखेका रहेछन् । त्यसपछि खेल्दै गरेका कक्षा पाँचमा अध्ययन गर्ने धनीधरलाई स्कुलमा फोटो खिचाउनु छ भन्दै साइकलमा हालेर विवेकानन्दले विराटनगर लिएर आए। जहदाको नहरमा ल्याएपछि मिथिलेशले फोन गरेर अभिषेकलाई बोलाए । अभिषेकको मोटसाइकलमा बालकलाई राखेर तीनै जना विराटनगर-१५ स्थित श्रीराम स्कुलनजिक अभिषेकको दाजुको कोठामा ल्याएको देखिन्छ' डिएसपी दहालले भने।
अभिषेकको दाजु बस्ने यादव निवास लेखिएको घरमा बालकलाई राख्न खोज्दा अपहरणकारीबीच नै विवाद भएको पाइएको छ । 'बालकलाई त्यहाँबाट अन्यत्र लैजाने प्रयास हुदै गर्दा थाहा पाएर स्थानीयले हो-हल्ला गरेछन्' उनले भने, 'घटना बाहा पाउनासाथ पुगेको प्रहरीले बालकको सकुशल उद्धार गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ।
प्रहरीको फन्दामा अपहरणकारी
बालक अपहरण गरेर कोठामा ल्याउँदा करिव दिउसोको साढ़े तीन चजेको थियो । त्यसबेलासम्म गाउँमा बडाध्यक्षको छोरा हराएको हल्ला फैलियो। प्रहरीमा तत्काल जानकारी पुग्यो ।
बालक अपहरणमा परेको जानकारी पाउनासाथ अपहरणकारीको खोजी र बालकको उद्धारका लागि मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विशेष टोली परिचालन गरेका थिए । इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर सन्दीप बेलबासेको नेतृत्वमा खटिएको संयुक्त टोलीले बिराटनगर-१८ बाट बालकको उद्धार गरेको हो। डिएसपी दाहालका अनुसार प्रहरी आएको थाहा पाएपछि अपहरणमा संलग्न भने फरार भएका थिए । सुरुमा अभिषेक पक्राउ परेका थिए । त्यसपछि अरू दुई जनालाई पक्राउ गर्न प्रहरी सफल भएको हो । 'तीनै जनाको मिलेमतोमा बालकको अपहरण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ' डिएसपी दाहालले भने, 'उनीहरू जहदा-१ बुधनगरबाट पक्राउ परेका हुन् ।' पक्राउ परेकाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउन बुधबार मोरङ अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए ।
बालकलाई अपहरण गर्नुपर्ने कारण पत्ता लागेको छैन । विस्तृत अनुसन्धानपछि खुल्ने प्रहरीले बताएको छ । पक्राउ परेकामध्ये मिथिलेशले भारतीय नम्बरको वाट्सएपमा कुरा गरेको पाइएको प्रहरीको भनाइ छ । 'अपहरणकारीले भारतीय मोबाइल नम्बरको वाट्सएपमा कुरा गरेका कारण भारत पुर्याउने योजनासहित बालकको अपहरण गरिएको आशङ्का छ' अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले भने, 'अपहरणको मुख्य योजनाकार नै भारतीय नागरिक हुन सक्छन् ।' अपहरणको मुख्य योजनाकारका बारेमा खुल्न बाँकी रहेको र विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।