सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित सिमरवन जङ्गलमा हात्तीको आक्रमणबाट विहीबार एकजनाको ज्यान गएको छ ।

बाख्राका लागि घाँस काट्न गएका स्थानीयवासी ६९ वर्षीय भीमबहादुर विष्टको हात्तीको आक्रमणमा परी ज्यान गएको वडा सदस्य टेकबहादुर गौतमले जानकारी दिए ।

वडा सदस्य गौतमका अनुसार जङ्गलबाट घाँस लिएर फर्किने क्रममा विष्टलाई हात्तीले आक्रमण गरेको थियो । लामो समयसम्म विष्ट घर नफर्किएपछि खोजि गर्ने क्रममा मध्यान्हको समयमा जंगलमा मृत अवस्थामा भेटिएको थियो । विष्टको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ ।

सो क्षेत्रमा हात्ती अझै आईरहेको र स्थानीयले सतर्कता अपनाईरहेको गौतमले जानकारी दिएका छन् ।