नेपाल रेडक्रस सोसाइटी वराहक्षेत्र उपशाखाको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाले सभापति हरिकृष्ण भट्टराईको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष ज्ञानबहादुर पाण्डेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पास गरेको छ ।
प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सभापति भट्टराईले यस उपशाखाको मातहतमा एक एम्बुलेन्सको आवश्यकता महसुस गरी भारतीय पेन्सन अफिस धरानमार्फत भारतीय दूतावास काठमाडौसँग माग गरी चतरा अस्पतालमार्फत सञ्चालित रहेको बताए ।
यस्तै उपशाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको, बिपी आधारभूत विद्यालयको हाताभित्र रहेको उपशाखाको कार्यालयलाई २ न वडा कार्यालयको हाताभित्र स्थानान्तर गरेको, रगत आवश्यकता पर्ने बिरामीका लागि रगत उपलब्ध गराईदिन सम्बन्धित संस्थालाई सिफारिस गरिएको, डेंगु पीडित स्थानीयलाई जिल्ला रेडक्रस सुनसरीमार्फत नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको, आजीवन सदस्यता विस्तारका गरी १६८ सदस्य थप गरी जम्मा ४७० जना पुऱ्याइएको, रेडक्रसको भवन निर्माणका लागि हाल निर्माणाधिन चतरा अस्पताल आसपासको क्षेत्रमा ब्लड बैंक समेत सञ्चालन गर्न सकिने गरी व्यवस्थित भवन निर्माण कार्यको आवश्यक प्रारम्भिक तयारी भइरहेको उल्लेख गरे ।
यस्तै सभापति भट्टराईले संस्थाका भावि प्रस्तावित कार्यक्रमसमेत प्रस्तुत गरेका थिए । उनले आजीवन सदस्यताको विस्तार, रक्तदान कार्यक्रमको आयोजना, भवन निर्माणका लागि आवश्यक पहल प्रयास जारी राखिने, आकस्मिक रुपमा सामना गर्नुपर्ने प्रकोप व्यवस्थापनको लागी सहयोग र समन्वयको प्रयासलाई जारी राखिने, संस्थालाई जीवित र गतिशील राख्ने प्रयासलाई निरन्तरता दिइने, चालु आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्त गर्नेलगायतका प्रस्ताव राखेका थिए ।
यस्तै आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष पाण्डेले २०७९ साउन १ गतेदेखि असार ३१ गतेसम्मको प्राप्ति तथा भूक्तानी विवरण प्रस्तुत गरेका थिए । सदस्यता नवीकरण शुल्कबाट चालु आर्थिक वर्षमा ३ हजार १ सय ५० रुपैयाँ सङ्कलन गरेको बताए । यस्तै कृषि विकास बैंकमा १ लाख २५ हजार ६ सय ७४ रुपैयाँ ८४ पैसा मौज्दात रहेको विवरण प्रस्तुत गरे ।
हाल नयाँ सदस्य विस्तारवापत् सङ्कलित रकम १ लाख २६ हजार १८ रुपैयाँ सहकारी मौज्दात रहेको र दानपेटिकामार्फत सङ्कलित २४ हजार ४ सय ४३ रुपैयाँ रहेको कोषाध्यक्ष पाण्डेले जानकारी दिए ।
सभापति हरिकृष्ण भट्टराईको सभाध्यक्षतामा कोशी प्रदेश सभा सदस्य ममता तामाङको प्रमुख आतिथ्यता रहेको थियो । उपाध्यक्ष सीता भण्डारीले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम संचालन शान्तिराम खतिवडाले गरेका थिए । सभामा वराहक्षेत्र २ का वडाध्यक्ष होमप्रसाद गौतम, आदर्श माविका पूर्व प्राचार्य ओमकुमार शर्मा, चतरा अस्पतालका व्यवस्थापक डा. अनिल गिरी, भूपू सैनिक सङ्गठनका अध्यक्ष सुवेदार सन्तकुमार राईलगायतको आतिथ्यता रहेको थियो ।
साधारण सभाले स्थानीय शान्ति सिर्जना क्लब वराहक्षेत्र २ लाई संस्थागत सम्मान गरेको थियो ।