बिर्तामोड । राष्ट्रिय भक्का (भाका) दिवस झापामा विविध सांस्कृतिक कार्यक्रम गरेर मनाइएको छ । राजवंशी समाज विकास समितिको आयोजनामा प्रत्येक वर्षको पुस २९ गते हुँदै आएको भक्का दिवस झापामा मनाइएको हो ।

२०७४ सालदेखि मनाउन सुरु गरेको भक्का दिवसको यो सातौं संस्करण हो । विशेषगरी पूर्वी नेपालको झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने राजवंशी समुदायले खाजाका रूपमा भक्क ा उपभोग गर्दै आएका छन् । यो परिकारको प्रचार–प्रसार गर्नका लागि राजवंशी समाज विकास समितिले पुस २९ मा भक्का दिवसको रूपमा मनाउन थालेको हो ।

भक्का दिवसको सातौं संस्करणमा झापाको भद्रपुर र बिर्तामोडमा बृहत् सांस्कृतिक कार्यक्रम गरी मनाइएको छ । भक्का दिवसको अवसरमा झापा क्षेत्र नम्बर ३ अन्तर्गतका तीनवटा स्थानीय तहले आइतबार बिदा दिएको छ ।

भद्रपुर नगरपालिका, हल्दीबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले स्थानीय बिदा दिइएको हो । ती स्थानीय तहमा अति आवश्यक कामबाहेक कार्यालय, सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ्य संस्था, वडा कार्यालयहरू बन्द रहेको जनाइएको छ । भक्का दिवसको अवसरमा झापाका स्थानीय तहले पहिलो पटक बिदा दिएको हो ।

आदिवासी राजवंशी समुदायले आफ्नो जाति विशेष परिकार भक्कालाई हरेक वर्ष पुस २९ लाई दिवसको रूपमा मनाउने बताएका छन् । राजवंशी समाज विकास समिति झापाले बिर्तामोडको डोमालाल राजवंशी रङ्गशाला र भद्रपुर–६ स्थित सिटी गार्डेन होटेलमा प्रथम राष्ट्रिय भक्का दिवस मनाएका छन् । बिर्तामोडमा १ सय ५० जना र भद्रपुरमा २५ जनाले सामूहिक रूपमा माटोको भाँडामा भक्का बनाएका छन् ।

समाजका अध्यक्ष अभय राजवंशीका अनुसार बिर्तामोडमा हजारौंले भक्का उपभोग गरेका छन् । उनले २ हजार केजी चामलको भक्का निःशुल्क वितरण गरिएको बताए । विभिन्न स्वादका अचार र तरकारीसहितको स्टल राखेर भक्का वितरण गरिएको उनले बताए । भद्रपुरमा दुई हजारदेखि २५ सय जनालाई निःशुल्क भक्का खुवाइएको थियो ।

राजवंशीहरूको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजाको प्रवर्धन, संरक्षण र विकासमा योगदान दिने उद्देश्यले भक्का दिवस मनाउँदै आएको उनको भनाइ छ । कार्यक्रमलाई भव्य बनाउन भारतीय गायिका नीलाञ्जना रायले साङ्गीतिक प्रस्तुति दिएकी थिइन् । भारतीय रियालिटी शोबाट राय साङ्गीतिक क्षेत्रमा उदाएकी हुन् । भारतको पश्चिम बङ्गालकी राय सन् २०२२ को सारेगमपको विजेता हुन् भने २०१७ को भ्वाइस अफ इन्डिया किड्सको उपविजेता र २०१८ को इन्डियन आइडल जुनियरमा तेस्रो भएकी थिइन् ।

राजवंशी समुदायका छोरी चेलीलाई चिसो छल्न माइत बोलाई भक्का खुवाएर खुसी बनाउने चलन छ । भक्का राजवंशी समुदायको मौलिक परिकार हो । जाडोयाम सुरु भएसँगै चोक–चोकमा बिहान बेलुका भक्का बनाएर बेच्ने चलन छ । चामलको पिठोबाट पानीको तातो बाफले बनिने यो परिकार खाजाको रूपमा खाने प्रचलन बसिसकेको छ ।

कार्यक्रमको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले गरेका थिए । उनले आदिवासीको मौलिक परिकार भक्काको माध्यमबाट पनि पर्यटन विस्तार गर्न सहयोग पुग्ने धारणा राखेका थिए ।

vakka1