धरान । जीवन विज्ञान योग प्रयोगशाला धरानले नवौं राष्ट्रिय योग दिवस मनाएको छ ।
योग दिवसका अवसरमा सोमबारका बिहान धरान–१६ स्थित समीचौकबाट सुरु गरिएको प्रभातफेरी लक्ष्मीचौक हुँदै पुरानो बजारबाट भानुचौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि प्रदेशसभा सदस्य यशोदा कायस्थले योगले मानिसको जीवनमा शान्ति र आनन्द प्राप्ति हुने भएकाले विश्व जागरणका लागि योग अति आवश्यक रहेको बताइन् । योगले लाखौं खर्च गर्दा पनि निको हुन नसकेका रोग निको हुने भन्दै उनले सबैले योग गर्नु पर्ने उनको भनाइ थियो ।
कोणसभामा बोल्दै योग शिक्षक बालिका भट्टराईले नेपालीले योग विरासतमा प्राप्त गरेकाले यसको प्रयोग गरेर विश्वमा योग र ध्यानको उद्गमस्थलका रूपमा नेपाललाई परिचित गराउनु आवश्यक रहेको बताइन् ।
योगले मानवको सर्वाङ्गीण विकास गर्ने भएकाले आजको युगमा योग शिक्षालाई प्रयोगमा ल्याउन अपरिहार्य रहेको उनको भनाइ थियो । जीवन विज्ञान धरानकी संयोजक योग प्रशिक्षक पवित्रा घिमिरेले योगलाई सबैले प्रोत्साहन गर्नुपर्ने बताउँदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरिन् ।