विजयपुर । धरानका राजनीतिक दलको टोलीले जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको लागि भवनको जग्गा प्राप्तिका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएका छन् ।
बीपी प्रतिष्ठानको समस्या लिएर काठमाडौँ पुगेका राजनीतिक दलले धरान तीनकुने क्षेत्रमा वनको जग्गा उपलब्ध गराउन ध्यानाकर्षण गराएको नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले जानकारी दिए ।
उनका अनुसार गृहमन्त्री श्रेष्ठले भवन निर्माणको लागि आवश्यक जग्गाबारे चाँडै प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ट्राफिक प्रहरी भवन निर्माणका लागि आवश्यक जग्गा लाङ्घाली सामुदायिक वनक्षेत्रमा बनाउन आवश्यक प्रक्रिया गतवर्ष देखि नै अघि बढेको छ ।
तर, अझै ट्राफिक कार्यालय बनाउने बाटो खुलेको छैन । उक्त विषयमा वन मन्त्रालयलाई समन्वय गरेर जग्गा प्राप्तिका लागि राजनीतिक दलले मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका हुन् ।
क्षेत्रीय सभापति तामाङले भने, ‘जिल्ला ट्राफिक कार्यालय भवनका लागि जग्गा प्राप्ति लागि प्रक्रिया अघि बढाउन मन्त्रीज्यूलाई अनुरोध गरेका छौँ । सकारात्मक कुरा आएको छ ।’ उनका अनुसार टोलीमा पूर्व धरान नग प्रमुख तिलक राई, नेकपा (एमाले) धरान नगर अध्यक्ष हर्कजङ एभेङ, नेकपा (माओवादी केन्द्र) धरान नगर अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज), जनता समाजवादी पार्टी नेपाल धरान नगर अध्यक्ष ताजुव लिम्बूलगायत रहेका थिए ।