धनकुटा । धनकुटा सदरमुकामबाट तथ्याङ्क कार्यालय र पाख्रीबासमा रहेको राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमलाई अन्यत्र सार्न लागिएको भन्दै धनकुटाका राजनीतिक दलले माघ १६ गतेबाट आन्दोलन सुरु गरेका छन् ।

माघ १६ गते धनकुटाको मदन चोकमा विरोध कार्यक्रम गर्दै जिल्लाका क्रियाशील आधा दर्जन राजनीतिक पार्टीहरूले विरोध प्रदर्शनसमेत गरेका छन् । राजनीतिक दलले धनकुटामा रहेको तथ्याङ्क कार्यालय धनकुटामै राख्न र राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमलाई पाख्रीबास मै राख्न दबाव दिन विरोध कार्यक्रम गरेको जनाएका छन् ।

विरोध कार्यक्रममा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीका प्रतिनिधिले सम्बोधन गर्दै विरोध जनाए । कार्यालय सार्न लागेको विरोधमा माघ मसान्तभित्र सम्बन्धित मन्त्री तथा प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउने र त्यति गर्दा पनि निर्णय नसच्याए फागुन पहिलो साताबाट बृहत् आन्दोलन गर्ने पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार राईले बताए ।

धनकुटा सदरमुकामको धनकुटा नगरपालिका वडा नं. ६ मा तथ्याङ्क कार्यालय रहेको छ भने पाख्रीबास नगरपालिका वडा नं. ३ मा राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रम सञ्चालनमा रहेको छ । स्थानीयसँग छलफल नै नगरी अन्यत्र सार्न लागेको दलहरूको आरोप छ ।

यता धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले माथिल्लो निकायबाट कार्यालय सार्ने कुनै जानकारी नआएको र यहाँ आन्दोलन भइरहेकोले यही हो भन्न नसक्ने अवस्थामा रहेको बताए । उनले वास्तविकता बुझेर छलफल गरी निष्कर्षमा पुग्ने बताए ।