सडक निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयले झापाको बिर्तामोड–शनिश्चरे सडक–खण्ड बन्द गरेका छन् । स्थानीय युवाको एक समूहले सडकमा ढुङ्गा भरेर जाली राखेपछि सडक अवरुद्ध भएको हो ।  

बिर्तामोड–शनिश्चरे सडकको निर्माण गर्ने जिम्मा पाएको प्रवीण मैनाचुली शान्ति जेभीले समयमा काम नसक्दा स्थानीय आक्रोशित भएका छन् । आगामी जेठ ९ गते हस्तान्तरण हुनुपर्ने गरी २०७९ जेठमा ठेक्का लागेको सो सडकको निर्माण कम्पनीले मागेको रकम राज्यले भुक्तानी नगरेपछि निर्माण कार्य अलपत्र परेको छ ।

खाल्टाखुल्टी परेर यो सडक जीर्ण भएको छ । त्यसमाथि पनि धुलो उडेर स्थानीयले सास्ती पाउँदै आएका छन् । सडकमा भएका खाल्टाका कारण कतिपटक सवारी साधन दुर्घटनामा परेका छन् । समयमा सडक निर्माण नभएपछि आक्रोशित स्थानीय युवाको समूहले ३ किलोमिटर खण्डमा चारवटा अवरोध राखेर सडक अवरुद्ध गरेका हुन् ।

शनिश्चरे–बिर्तामोडको मुख्य सडकमा अवरोध खडा गरेका युवाहरूले वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको कप्तानबारी–पुष्पलाल चोक–देवी बस्ती सडकसमेत अवरुद्ध पारेका छन् । त्यस सडकमा मोटरसाइकल मात्र छिर्नसक्ने बनाएर अवरुद्ध गरिएको बताइएको छ ।

आगामी जेठ दोस्रो साता निर्माण सम्पन्न भएर हस्तान्तरण हुनुपर्ने सो सडकको हालको प्रगति १४ प्रतिशत मात्र पुगेको सडक डिभिजन कार्यालय दमकका इन्जिनियर उज्वल खतिवडाले जानकारी दिए । उनले काम सम्पन्न भएको बिल निर्माण कम्पनीले अर्थ मन्त्रालयमा पेश गरे पनि भुक्तानी नपाएपछि निर्माणको कामले निरन्तरता नपाएको बताए ।

देशका अधिकांश निर्माण कम्पनी अहिले मन्त्रालयबाट रकम निकासा नहुँदा निर्माणको कार्यलाई निरन्तरता दिनसक्ने अवस्थामा छैनन् । उनीहरूले भुक्तानीका लागि पेश गरेको बिल पनि मन्त्रालयमा थन्किएका कारण यस्तो अवस्था आएको निर्माण व्यवसायीको दाबी छ ।

केहीदिन अघि बिर्तामोड–शनिश्चरे सडक–खण्ड निर्माण कम्पनी प्रवीण मैनाचुली शान्ति जेभीले पेश गरेको बिल बमोजिमको रकम निकासा भएको बुझिएको छ । तर, खर्च गरेको रकम मात्र भुक्तानी दिँदा पनि सडक निर्माण कार्यले निरन्तरता पाउने आशा गर्न नसकिने निर्माण व्यवसायीको भनाइ छ । थप रकम आउने सुनिश्चितता नभई काम गर्न तयार नभएको निर्माण कम्पनीले जनाएको छ ।

योे सडक शङ्कास्पद रूपले निर्माण भइरहेको थियो । निर्माणस्थलमा आयोजनाको सूचना पाटी नराखेको कारण यहाँको लागतका विषयमा स्थानीयले थाहा पाएका छैनन् । उनीहरूले सडकको संरचना तथा ठेक्का लागेको रकमको अङ्क थाहा नपाएको बताएका छन् । निर्माण कम्पनीले स्थानीयको आलोचना भए पनि आयोजनाको सूचना पाटी राखेको छैन ।  

निर्माण कम्पनीका सञ्चालक फडिन्द्र तिम्सिनाले सडक डिभिजन कार्यालयमा पेश गरेको बिल बमोजिमको रकम निकासा नभएका कारण निर्माण कार्य जारी राख्न नसकिएको बताए । उनले अहिले पनि रकम निकासा हुने हो भने तोकिएको समयमा सडक निर्माण कार्य सम्पन्न गर्न सकिने दाबी गरे ।