इटहरी । इटहरीमा अत्याधुनिक बसपार्क निर्माण सुरु गरिएको छ ।

इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बसपार्कको मङ्गलबार शिलान्यास गर्दै ठेकेदार कम्पनीलाई काम समयमै पूरा गर्न निर्देशन दिएका छन् । इटहरीको पुरानो बसपार्क क्षेत्रमा ठेक्का लागेर निर्माणको काम सुरु भएको हो ।

बसपार्क निर्माण नहुँदा इटहरी क्षेत्र पनि अस्त–व्यस्त हुने गरेको थियो । बसपार्कको भवन निर्माण भएसँगै बसपार्क अत्याधुनिक र सुविधासम्पन्न हुने नगरप्रमुख पौडेलले बताए । भवनको ठेक्का श्री अर्थ–हाम्रो–श्रीमान् हेटौंडा कम्पनीले प्राप्त गरेको छ । नौ करोड ४८ लाख ८३ हजार पाँच सय ५६ रुपैयाँमा ठेक्का प्राप्त गरेको हो ।

इटहरी उपमहानगरले नगर विकास कोषबाट ऋण लिई बसपार्क निर्माण गर्न थालेको नगरप्रमुखका प्रेस संयोजक धनबहादुर पुरीले जानकारी दिए । उनका अनुसार दुई दशकअघि निर्माण भएको बसपार्क अस्त–व्यस्त बनेको थियो । नगर विकास कोष काठमाडौँको ७० प्रतिशत र इटहरी उपमहानगरको ३० प्रतिशत लगानीमा बसपार्क निर्माण भइरहेको छ ।

नगरका इन्जिनियर जीवन घिमिरेका अनुसार एक बिघा क्षेत्रफलमा फैलिने बसपार्कको तल्लो तलामा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतिक्षालय, सभाहल, रेष्टुरेन्टसहितको निर्माण हुनेछ । १८ महिनाभित्र बसपार्क पूरा हुने उनले जानकारी दिए । ५० वटा बस अट्ने क्षमताको बसपार्क निर्माण गर्न लागिएको हो । बसपार्कमा ढल व्यवस्थापन र ड्रेनसहितको सुविधा हुनेछ ।