पित्तथैलीमा क्यान्सर देखा परी उपचाररत वराहक्षेत्र चतराका युवा निमेश किराँती (पन्चहाङ राई) को उपचारका लागि स्थानीय समाजसेवीले आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
आर्थिक रुपले विपन्न किराँतीलाई स्थानीय सहयोग वृद्धि गर्नुपर्ने आवश्यकता देखिएकाले सहयोग जुटाउने अभियानस्वरुप केही आर्थिक सहयोग गरेको नेपाली काङ्ग्रेसका नेता नारायण नेपालले बताए । उनले घरमै पुगी ३ हजार १ सय रुपैयाँ नगद हस्तान्तरण गरेका हुन् । यस्तै राप्रपाका कोशी प्रदेश प्रवक्ता विजयकुमार राउतलेसमेत २ हजार १ सय रुपैयाँ सहयोग प्रदान गरे ।
डेढ वर्षअघिदेखि जण्डिसका बिरामी किराँती आर्थिक अभावका कारण जडिबुटी खाँदै घरमै बसेको अवस्थामा सिकिस्त भएका थिए । उनलाई स्थानीय युवा प्रेम घिमिरेले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका लागि लगेका थिए । उपचारका क्रममा चेकजाँच, सिटी स्क्यान गराउँदा छातीमा सङ्क्रमण देखिएको घिमिरेले जानकारी दिए । 'कोलोन्स्कपी र इन्डोस्कोपी गर्दा क्यान्सर भएको डाक्टरले आशङ्का गरे,' घिमिरेले भने,'बायप्सी गर्दा पेटमा क्यान्सर भई, पित्तथैली, कलेजो, पेटमासमेत सङ्क्रमण भएको देखियो ।'
चिकित्सकका अनुसार बिरामीको उपचारका लागि १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । हालसम्म २ लाख ६० हजार रुपैयाँ सङ्कलन भएको छ । सोही रकमबाट हाल उपचार भइरहेको सहयोगी घिमिरेले जानकारी दिए ।
देशविदेशबाट केही आर्थिक सहयोग भए पनि स्थानीय समाजसेवीको सहयोगसमेत बिस्तारै आउँदै गरेको घिमिरेले जानकारी दिए ।
किराँती माओवादी जनयुद्धमा लडाकुका रुपमा रहेका थिए । फ्रन्ट गार्ड लिडरका रुपमा प्रथम बाटालियन रत्न सकुन्तल स्मृति ब्रिगेडमा कार्यरत उनी जनयुद्धपछि पार्टीमा फर्किएर वराहक्षेत्र माओवादी नगरको वडा सचिव थिए । बिरामी भएपछि उनी हाल कुनै जिम्मेवारीमा छैनन् ।
किराँतीको उपचार सहयोगका लागि परिवारजनले अपिल गरेका छन् ।