नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङ शाखाले स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गरिनुपर्ने माग राख्दै फोनिजले मंगलबारको ज्ञापनपत्र बुझाएका छन्।

फोनिजले  नेपाल पत्रकार महासंघ मोरङका कार्यवहाक अध्यक्ष मोहन भट्टराई, सचिब नेत्र पी अधिकारीलाई भेटेर सात दिनको अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका छन्। 

फोनिजको तर्फबाट अनुशासन समितिका संयोजक अर्जुन जम्मेली राई, फोनिज प्रदेश १ का इन्चार्ज भक्तशेर लिम्बु, अध्यक्ष सन्तवीर लामा, सल्लाहकार फिबराज बेघाको उपस्थितीमा मोरङ अध्यक्ष दिनेश सुब्बा र  सचिब अनिल श्रेष्ठले नेपाल पत्रकार महासंघ मोरङ शाखामार्फत केन्द्रमा ज्ञापन पत्र बुझाएका छन्।


अध्यक्ष सुब्बाले  श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गरिनुपर्ने माग राख्दै सात दिनको अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएको बताए। फोनिजको माग प्रति नेपाल पत्रकार महासंघले बेवास्था गरेको खण्डमा  केन्द्रको सर्कुलेसन अनुसार आन्दोलनमा उत्रिने उनले चेतवनी दिएका छन्।

ज्ञापन पत्र बुझदै नेपाल पत्रकार महासंघ मोरङका कार्यवहाक अध्यक्ष मोहन भट्टराईले सत्य र तथ्यका लागि लड्ने पत्रकारले इतिहासको तथ्यका सम्मान गर्नुपर्ने धारणा राखे।

नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई मान्ने गरिएको छ। २००८ सालमा नेपाल पत्रकार संघको स्थापना गर्दा श्रेष्ठ अध्यक्ष भएकाले उनलाई महासंघको संस्थापक अध्यक्ष घोषणा गर्नुपर्ने फोनिजको माग रहेको छ।

स्वर्गीय श्रेष्ठ २००८ सालमा नेपाल टुडेको सम्पादक थिए। उनकै सभापतित्व र तरंगका सम्पादक भोजबहादुर सिंह न्यौपाने सचिव रहेको पहिलो पत्रकार संघको गठन भएको थियो। नेपाल पत्रकार संघका पहिलो सभापति श्रेष्ठ नै रहेको तर्क गर्ने गरिएको छ।

उनकै सभापतित्वमा गठन भएको नेपाल पत्रकार संघको दोस्रो सभा २००९ साल वैशाख २८ गते भोटाहिटीस्थित आर्य समाजको भवनको सभाकक्षमा भएको थियो। यो सभाले पनि श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघ पुनर्गठन गरेको थियो। त्यसको तीन वर्षपछि मात्र दोस्रो नेपाल पत्रकार संघको गठन भएको थियो।

२०१२ साल चैत्र १६ गते पत्रकारहरुको बैठकबाट नेपाल पुकारका तत्कालीन सम्पादक भट्टराई सभापति भएका थिए। श्रेष्ठ भन्दा चार बर्ष पछि मात्रै संघको अध्यक्ष बनेका भट्टराईलाई संस्थापक सभापति भन्ने गरिएको प्रति फोनिजले आपत्ति जनाउँदै आएको छ।

फोनिजले आज देशभरीको शाखा कार्यालय र प्रदेश कार्यालयहरुमा सत्यनारयण बहादुर श्रेष्ठलाई संस्थापक अधयक्ष कायम गरिनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको छ।