इटहरी । सुनसरीको इटहरीस्थित कचना बूढीगङ्गा महादेव विद्यालय विवादका बीच बुधबार उद्घाटन भएको छ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालयको उद्घाटन गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अहिलेको शिक्षा उपयोगी, बहुआयामिक र गुणस्तरीय हुनुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पूर्व प्रधानमन्त्री ओलीले भवन मात्र चिटिक्क भएर काम नलाग्ने उल्लेख गर्दै पढाउने शिक्षक, कर्मचारी र विद्यार्थीहरू पनि त्यतिकै अब्बल हुनुपर्ने बताए ।

उनले नेपालका धेरै जिल्लामा राम्रो विद्यालय भएर पनि परीक्षामा नतिजा राम्रो नल्याएको र जहाँ भवन नै नभएर चौरीमा मात्र पढाइ भएको छ, त्यहाँको विद्यालयको नतिजा उत्कृष्ट भएको उदाहरण प्रस्तुत गरे । विकासको प्रतिफल दिन सक्ने खालको शिक्षा आजको आवश्यकता रहेको उनले बताए ।

‘गुणस्तरीय शिक्षाले समाजमा एक कुशल नेतृत्व जन्माउँछ र कुशल नेतृत्वले सिङ्गो देश बनाउँछ’–उनले भने । अहिलेको समय विज्ञान र कम्प्युटरको रहेको कारण अबको शिक्षा वैज्ञानिक, प्रविधियुक्त हुनुपर्नेमा अध्यक्ष ओलीले जोड दिए । आफूले सरकारको नेतृत्व गरिरहँदा आएको तथा ल्याइएको योजनामध्येकै एक यस विद्यालय रहेको बताउँदै अध्यक्ष ओलीले अहिले मा.वि. रहे पनि यसको स्तरोन्नतिका लागि पुनः सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

आफ्नो लागि उद्घाटन ठूलो कुरो नरहेको र उद्घाटन वडाध्यक्षलाई नै गराउँदा पनि हुने बताउँदै शिलान्यासमा चैँ चासो राख्ने अध्यक्ष ओलीको भनाइ थियो । कुल ९ करोड ४६ लाख ८ हजार ९ सय २८ मा निर्माण सम्पन्न भएको भवनको हेटौंडास्थित तीन वटा निर्माण कम्पनीले ठेक्का लिएका थिए ।

समयमै निर्माण सम्पन्न भएर उद्घाटनको तयारी अन्तिम चरणमा पुगेपछि इटहरी उपमहानगरले कार्यक्रम स्थगित गरिएको सूचना जारी गरेको थियो । भवन निर्माण भइनसकेको र ठेकेदार कम्पनीले उपमहानगरलाई हस्तान्तरण नगरेको अवस्थामा विवाद देखिने भन्दै इटहरी उपमहानगरका नगर प्रमुख हेमकर्ण पौडेलले धारणा राख्दै आएका छन् । विद्यालय प्रशासनले भने ठेकेदार कम्पनीबाट निर्माण सम्पन्न भई हस्तान्तरण पनि गरिसकेको दाबी गरेको छ ।

उपमहानगरकै उपप्रमुख सङ्गीता चौधरीले विद्यालयको स्तरोन्नतिका लागि शुभकामना प्रदान गरिन् भने नगर प्रमुख पौडेल भने कार्यक्रममै देखिएनन् । पौडेल कार्यक्रममा उपस्थित नहुने भन्दै पत्र पठाएको आयोजकले जानकारी गराएको थियो । सीमित नेता, विद्यार्थी र थोरै अभिभावकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, प्रतिनिधिसभा सदस्य भीम आचार्य, कोशी प्रदेश सांसद् मीनाकुमारी श्रेष्ठ, पूर्व मन्त्री रामकुमार सुब्बा, पूर्व कोशी प्रदेश सांसद् निलम बस्नेत, सर्वध्वोज साँवा, इटहरी उपमहानगरका पूर्व प्रमुख द्वारिकलाल चौधरी, पूर्व उपप्रमुख लक्ष्मी गौतमलगायतले विद्यालयको उज्वल भविष्यको कामना गरेका थिए । वडा नं. ४ का वडाध्यक्ष भक्त लामाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिकबहादुर राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।