धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–६ स्थित माङ्तुमसिङ (लिम्बू भाषामा देवताहरू भेट्ने रुख रहेको ठाउँ) डाँडामा विश्वकै सबैभन्दा अग्लो युमा माङ्हिम निर्माण हुँदै छ ।
किरात धर्मावलम्बीहरूले चन्दा सङ्कलन गरेर, वडा कार्यालय, चौबिसे गाउँपालिका र प्रदेश सरकारको विशेष लगानीमा विश्वकै सबैभन्दा अग्लो युमा माङ्हिम निर्माण भैरहेको छ । चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङका अनुसार हालसम्म युमा माङ्हिम निर्माणको लागि २ करोडभन्दा माथि लगानी भैसकेको बताए ।
चौबिसे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम दाहालले चालु आ.व.०८०/८१ मा धार्मिक, सांस्कृतिक एवम् पर्यटकीयस्थलहरूको विकास र प्रवद्र्धनको लागि २ करोड बराबरको बजेट रहेको बताए । युमा माङ्हिमको निर्माण कार्य ०६० सालदेखि थालिए पनि बजेट अभावको कारणले नियमित रूपमा काम गर्न नसकिएको चौबिसे गाउँपालिका–६ का वडाध्यक्ष आशिष चेम्जोङले बताए ।
यो माङ्हिम किरात जोतिषशास्त्र अनुसार त्रिलोक, अठार भूवनको संरचनामा बनेको छ । चौबिसे गाउँपालिकाभित्रको ५० वटा पर्यटकीय गन्तव्यहरूमध्ये १० वटाभन्दा बढी पर्यटकीय गन्तव्यहरू राजारानी बजार र आसपासमा रहेका बताए ।
यहाँ रहेको नागबेली पार्क, रानीताल, साम्लोलुङ्धुङ (गीत गाउने ढुङ्गा), घ्याम्पे झरना, काली झरना, सिद्धथान, राजारानी थान, कीर्तिपुर माङ्थाना, केलाङपार्क, राजातालको सिमली बोटलगायतका छन् ।