धरान । नेपाल स्काउट कोशी प्रदेशको आयुक्तमा स्काउटर हेमन्त भण्डारी नियुक्त भएका छन् । उनी धरान–१६ का बासिन्दा हुन् ।
नेपाल स्काउट कोशी प्रदेश स्काउटका प्रमुख स्काउट एवम् सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले प्रदेश आयुक्तमा स्काउटर भण्डारीलाई नियुक्त गरेका थिए । प्रदेश परिषद्मा निर्वाचित प्रदेश परिषद् सदस्यहरूमध्ये एक जनालाई सदस्यलाई प्रमुख स्काउटले प्रदेश आयुक्तमा मनोनयन गर्ने कानूनी व्यवस्था छ ।
२०६४ सालमा सुनसरी क्रियुमा रोभर तहमा प्रवेश गरी स्काउट क्षेत्रमा उदाएका भण्डारी २०७१ सालमा पूर्वाञ्चल विकास क्षेत्रको युवा परिषद्को अध्यक्ष भएका थिए । भण्डारीले २०७१ सालमा एड्भान्स स्काउट तालिमका साथै कब स्काउट आधारभूत तालिमसमेत लिएका छन् । भण्डारी कोशी प्रदेशका स्काउट सदस्यता वृद्धि संयोजकको भूमिकासमेत निभाइसकेका छन् । प्रदेश आयुक्तका रूपमा उनको कार्यकाल चार वर्षको हुनेछ ।
नियुक्तिपछि स्काउटको विकास र विस्तार गर्दै प्रदेशवासी युवा तथा बालबालिकाहरूको हितमा लाग्ने आयुक्त भण्डारीले बताए । नवनियुक्त प्रदेश आयुक्तले ११ सदस्यीय प्रदेश कार्यसमिति गठन गर्नेछन् । यसैबीच यही फागुन २२ गते सामाजिक विकास मन्त्री एवम् प्रदेश प्रमुख स्काउट राजेन्द्र कार्कीको दीक्षान्त सम्पन्न भएको छ । तत्कालीन कोशी प्रदेश तदर्थ समिति संयोजक रवि खनालले प्रमुख स्काउटलाई दीक्षान्त गराएका थिए ।