पाँचथर । पाँचथरको याङ्वरक गाउँपालिका–३ ओयाममा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ । गाउँपालिकाको ओयाम बजारमा स्थानीयलाई सुरक्षा दिने उद्देश्यले प्रहरी पोष्ट स्थापना गरिएको हो । अस्थायी प्रहरी पोष्टको गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्या (सुवास) ले उद्घाटन गरेका थिए । पोष्ट स्थापनाका लागि स्थानीय र जनप्रतिनिधिले लामो समयदेखि पहल गर्दै आएका थिए ।

प्रहरी चौकी स्थापना गर्न याङ्वरक–३ का वडासदस्य रणबहादुर गुरुङले निःशुल्क जग्गा दान गरेका छन् । तत्काललाई प्रहरी पोष्ट भाडाको घरबाट सञ्चालनमा हुनेछ । प्रहरी चौकीको भवन निर्माण नभएसम्म वडा कार्यालयले पोष्ट भएको घरभाडा व्यहोर्ने गरी सम्झौता गरेको वडाध्यक्ष विमल राईले जानकारी दिए । उनका अनुसार तीन वर्षसम्म वडाले भाडा तिर्नेछ ।

सो समयसम्ममा भवन निर्माण गर्ने लक्ष्य लिएको राईले बताए । वडाले प्रहरी पोष्टमा आवश्यक पर्ने एक लाख रुपैयाँ र स्थानीयले २५ हजार बराबरको जिन्सी सामग्री उपलब्ध गराएका छन् ।  असइको कमाण्डमा रहने पोष्टमा एकजना हवल्दार र एकजना सहायक हवल्दारसहित ७ जना प्रहरी रहने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) हेमन्तबहादुर भण्डारी क्षेत्रीले जानकारी दिए ।

प्रहरी पोष्ट उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्राती, गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङ्वो, निवर्तमान पालिका अध्यक्ष लेखनाथ घिमिरे र रणसेर गण फिदिमका गणपति दिलिप राउतलगायत जनप्रतिनिधि र स्थानीयको उपस्थिति थियो ।