धरान । सङ्खुवासभा जिल्लास्थित मकालु गाउँपलिका ५ का एक युवकलाई जबर्जस्ती करणी गरेको अभियोगमा धरानबाट पक्राउ गरेको छ । 

विवाहको प्रलोभन देखाई करणी गरेको अभियोगमा संयुक्त प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका १६ हंसमार्गबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । प्रवक्ता इन्स्पेक्टर रामकुमार लामिछानेका अनुसार मकालु ५ का ३१ वर्षीय लीलाबहादुर गुरुङलाई इलाका प्रहरी कार्यालय धरानको सहयोगमा नियन्त्रणमा लिइएको हो । 

आरोपितले २०७९ चैत महिनामा एक महिलालाई विवाह गर्ने प्रलोभन देखाएर करणी गरी फरार रहेका थिए । उनीविरुद्ध प्रहरीमा उजुरी परेपछि खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा र इलाका प्रहरी कार्यालय धरानको टोलीले असार १० गते नियन्त्रणमा लिएको प्रवक्ता लामिछानेले जानकारी दिए । उनी उपर मुलुकी अपराध संहित २०७४ बमोजिम जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।