धरान । धरानको एक चर्चले बालिकाहरूलाई नाङ्गो नचाएको विषय अहिले सामाजिक सञ्जालहरूमा भाइरल मात्रै बनेको छैन । नाङ्गो नचाउनेलाई कारबाही हुनुपर्ने आवाज पनि उठ्न थालेको छ । दृश्य सामग्री प्रसार गर्ने सामाजिक सञ्जाल ‘टिकटक’मा भिडियोहरू भाइरल बनिरहेको हो । 

उक्त विषयमा केही आफन्तले आइतबार (पुस १४) गते जिल्ला प्रशासन कार्यालय सुनसरी, मानव अधिकार आयोग प्रदेश कार्यालय, नेपाल महिला आयोग अनलाइन उजुरी ११४५ मा निवेदन दिएको भनी उल्लेख भएको एउटा निवेदन पत्र सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको छ । यस घटनाका विषयमा के भएको हो भनी तथ्य पत्ता लगाउने क्रममा ब्लाष्टले बुझ्दै जाँदा धरान उपमहानगरपालिका–११ को हिसप चर्चमा गत मङ्सिर २९ गते अभिभावक दिवसको अवसर पारेर नाटक मञ्चनको क्रममा साना बालिकाहरूलाई अर्धनग्न बनाई प्रस्तुत गरेको पत्ता लागेको छ ।

उजुरीको विषयमा भने यो समाचार तयार पार्दासम्म पुष्टि हुन सकेको छैन । ब्लाष्टले हिसप चर्चका आधिकारिक व्यक्ति सुवास बर्देवालाई फोनमा सम्पर्क गरी वास्तविकता के हो भनेर बुझ्दा उनले भने, ‘अभिभावक दिवसको दिन मङ्सिर २९ गते कार्यक्रम गरिएको हो । त्यो अवसरमा सृष्टिमा मानवको उत्पत्ति र मानवको पतनको सम्बन्धमा देखाइएको लघू नाटकको दृश्य हो ।’ उनले निवेदनका विषयमा सत्यता नभएको प्रष्टाए । ‘निवेदन पनि केही दिएको होइन । उजुरी फेक हो । सम्बन्धित व्यक्तिले त गरेको होइन; त्यहाँ भएको कुराहरू सबै कपोकल्पित हो’–उनले भने ।

नेपालको संविधानको धारा ३९ ‘बालबालिकाको हक’को उपधारा ६ मा यस्तो लेखिएको छ, ‘कुनै पनि बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुव्र्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन ।’

ब्लाष्टकर्मीले उनलाई उजुरीमा लेखिएको ‘धरान होसना बापटिस चर्च’ मा भएको होला नि त भनेर जिज्ञासा राख्दा उक्त चर्चमा यस्तो नाटक नै प्रदर्शन नगरेको प्रष्टाए । ‘त्यो चर्चमा भएको होइन । हिसप चर्चमा देखाइएको हो । ६–७ वर्षका नानीहरूले नाटक प्रदर्शन गरेका हुन् । माथिको बस्त्र चाहिँ थिएन नै’ सामाजिक सञ्जालमा आएको विषयमा उनले प्रष्ट पार्दै भने । 

नेपालको संविधानको धारा ३९ ‘बालबालिकाको हक’को उपधारा ६ मा यस्तो लेखिएको छ, ‘कुनै पनि बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुव्र्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन ।’

नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले उजुरीको बेहोरासहित फेसबुकमा लेखेका छन्, ‘धरानमा गत ख्रीष्टमसको उपलक्ष्यमा बाइबलीय नाटक मञ्चन गर्ने क्रममा किशोरीहरुलाई स्टेजमै नङ्याएर प्रस्तुत गर्ने, स्टेज पछाडी अनैतिक क्रियाकलाप गर्ने चर्च र पास्टरको विरुद्धमा पीडित किशोरीहरुले सुनसरी जिल्ला प्रशासन कार्यालयमा कारबाहीका लागि उजुरी दिएका छन् । धर्मको नाममा स्वर्ग र नर्कको डर देखाएर, परमेश्वरको आदेश भन्दै पास्टरले मनपरी गरेको उजुरीमा छ । उक्त भिडियो ब्यापक शेयर गरिएको पोर्न साईटमा पनि राखिएको उजुरीमा उल्लेख छ ।’ उनले उजुरीको बेहोराको निवेदन नै पोस्ट गरेका छन् । 

अहिले यो विषय कारबाहीको तहमा जानुपर्ने आवाज उठिरहेको छ । यस विषयमा ब्लाष्टले जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई पनि बुझेका थियौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले भने, ‘मैले इलाका प्रहरी, इलाका प्रशासन धरानमा बुझेँ । मेरो अफिसमा पनि आएको छैन । अहिलेसम्म अफिसियल्ली उजुरी परेको छैन ।’ उनले आफूले पनि सामाजिक सञ्जालहरूमा आएको छ रे भन्नेसम्म सुनेको जानकारी दिए । ‘तथ्य प्रमाण के हो त्यो बुझ्नुपर्ने हुन्छ’–उनले फोनसम्पर्कमा भने । 

यस्तै मानव अधिकार आयोग कोशी प्रदेश कार्यालयमा पनि यसबारे बुझ्ने प्रयास गरेका थियौँ । यसबारेमा आयोगका प्रमुख वीरबहादुर बुढा मगरले भने, ‘हालसम्म आएको छैन । इमेल तथा अन्य माध्यमबाट आएको देखिँदैन । हुलाकबाट पठाएको हो भने आज बिदा नै थियो ।’

यस्तै निवेदनमा नेपाल महिला आयोग लेखिए पनि उक्त नाम भएको नेपालमा कार्यालय नभई राष्ट्रिय महिला आयोग रहेकाले उक्त कार्यालयका सूचना अधिकारी टङ्क भट्टराईलाई यसबारे बुझ्दा आफूलाई यसबारे जानकारी नभएकाले उजुरी शाखामा बुझेर आफूले जानकारी दिने बताए । उनले फोनसम्पर्कमा भने, ‘योबारे उजुरी शाखामा बुझ्नुपर्छ । भोलि मलाई ११ बजेतिर फोन गर्नुहोला न ।’

अहिले यो विषयमा सामाजिक सञ्जालहरूमा व्यापक रूपमा आलोचना भइरहेको छ । फेसबुक, एक्स तथा टिकटकहरूमा यो विषयले व्यापकता पाएको छ । खासमा बालिकाहरूलाई नङ्ग्याउनुपर्ने अवस्था कसरी सिर्जना भयो त भन्ने विषयमा इसाई धर्मावलम्बीबारे जानकारलाई सोधेका थियौँ ।

उनले भने, ‘बाइबलमा सृष्टिको कथा वर्णन छ । त्यहाँ आदम र हवा भन्ने नाममा दुई पात्र छन् । त्यही पात्रको नाममा नाटक मञ्चन गरिएको हो । सृष्टिको वर्णनको विषयलाई नै शिक्षामूलक तरिकाले प्रस्तुत गर्न खोजिएको विषयलाई अर्कैतिर मोडेको हुन सक्छ ।’