धरान । नेपाली काङ्ग्रेसको भातृ संंस्था नेपाल तामाङ सङ्घ, सुनसरीको सभापतिमा मनोज तामाङ सर्वसम्मत चयन भएका छन् । 

समितिको उपसभापतिमा शङ्कार तामाङ र बमबहादुर तामाङ, सचिवमा सन्जे तामाङ र तारा तामाङ, सहसचिवद्वयमा माया गोले र प्रमिला तामाङ साथै कोषाध्यक्षमा कलादेवी तामाङ चयन भए । यसै गरी सदस्यहरूमा श्यामसुन्दर तामाङ, दिलकुष्ण तामाङ, लक्ष्मी गोले, मोतिमाया तामाङ, राजकुमार तामाङ, केदार तामाङ, इन्द्रराज तामाङ रहेका छन् । 

काङ्ग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले इतिहासमा तामाङ जातिमाथि चरम शोषण भएको बताए । उनले प्रजातन्त्र र गणतन्त्र प्राप्तिमा तामाङ समुदायको महत्त्वपूर्ण योगदान रहेको बताए । पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले पार्टीमा माथिबाट केही आउँछ भनेर बस्यो भने सङ्गठन निस्क्रिय हुने बताए । आपूm नेतृत्वको सङ्गठनलाई आफैले चलायमान बनाउनुपर्नेमा उनले जोड दिए ।

काङ्ग्रेसका जिल्ला सचिव माधव घिसिङले नेपाली काङ्ग्रेसले मात्रै हरेक जातजातिको हक, अधिकार सुनिश्चित गर्ने बताए । काङ्ग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङले लोकतन्त्रमा विश्वास र आस्था राख्ने तामाङ समुदायलाई सङ्गठित गर्दै राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक, शैक्षिक लगायत सबैखाले अधिकार सुनिश्चित गर्न नेपाल तामाङ सङ्घको स्थापना भएको बताए ।