सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ नामासेबाट प्रसूति व्यथा लागेको १८ घण्टापछि एक महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ ।

प्रसूति व्यथा लागेको १८ घण्टापछि  भोटखोला–४ नामासेकी ३६ वर्षीया याङ्जम भोटेलाई बिहीबार राष्ट्रपति महिला उत्थान  कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने यो स्थान अझै यातायातको पहुँच पुगेको छैन ।

प्रसूति व्यथापछि बुधबार नामासे सामुदायिक स्वास्थ्य एकाइमा भर्ना भएकी भोटेलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको भोटखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फूर्पु भोटेले जानकारी दिए । प्रसूति व्यथा लागेको १८ घण्टापछि भोटेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँको थापाथली प्रसूति गृहमा पठाइएको उनले बताए । सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गरी तोकिएका अस्पतालमा पु¥याउने व्यवस्था मिलाउने गरेको छ ।

भौगोलिक विकटताका कारण यहाँ नजिक बर्थिङ सेन्टर र स्वास्थ्य चौकीमा शल्यक्रियासहितको सुविधा छैन । यही कारण जिल्लामा गम्भीर अवस्थाका गर्भवती तथा सुत्केरीको उपचारमा समस्या हुँदै आएको छ । जिल्लामा हवाई उद्धार कार्यक्रमअन्तर्गत वि.सं. २०७७ देखि हालसम्म २४ जनाभन्दा बढी सुत्केरी तथा गर्भवतीको हवाई उद्धार गरिएको जिल्ला स्वास्थ्य कार्यालयका भवानी तिम्सिनाले बताए । उद्धार गरिएका अधिकांश सुत्केरी तथा गर्भवतीहरू १७ वर्षदेखि ३६ वर्ष उमेर समूहका रहेका उनले जानकारी दिए । (रासस)