धरान । सवारी लाइसेन्सको आधिकारिकता जाँच गर्न अहिले प्रहरीसँग देशभर ७ सय वटा ‘स्मार्ट कार्ड रिडर’ मेसिन उपलब्ध भएको छ । जसमा २ सय वटा ७ वटा प्रदेशलाई बाँडिएको छ भने काठमाडौं, भक्तपुर ललितपुरमा ५ सय थान राखिएको छ ।
यातायात व्यवस्था विभागका अनुसार बागमती प्रदेशमा सबैभन्दा धेरै स्मार्ट कार्ड रिडर मेसिन रहेको छ । बागमती प्रदेशमा ७४ वटा स्मार्ट कार्ड रिडर मेसिन सञ्चालनमा रहेका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा ९ वटामात्रै स्मार्ट कार्ड रिडर रहेको छ भने सुदूरपश्चिम प्रदेशमा १३ वटामात्रै स्मार्ट कार्ड रिडर छ । मधेश प्रदेशमा २८ र गण्डकी प्रदेशमा १६ वटा छ, लुम्बिनीमा ४५ र कोशी प्रदेशमा १५ वटा पठाइएको छ ।
यातायात व्यवस्था विभागका निर्देशक गणेशमान सिंह हालसम्म ३८ लाख २६ हजार ६ सय २१ वटा स्मार्ट लाइसेन्स वितरण गरिएको बताए । उनका अनुसार करिब ३० लाख लाइसेन्स प्रिन्ट गर्न बाँकी छ । विभागबाट प्राप्त मेसिनहरू सबै प्रदेश कार्यालयहरूमा पठाइसकेको उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता एसपी सञ्जयबहादुर राउतले जानकारी दिए । परीक्षणका लागि ट्राफिक प्रहरीलाई तालिम दिएर पठाइएको उनले बताए ।
ट्राफिक प्रहरीले सबै लाइसेन्स नभई शङ्का लागेको मात्र परीक्षण गर्न पाउने उनले बताए । एउटा लाइसेन्स परीक्षण गर्न करिब ३५ सेकेन्ड लाग्छ । ट्राफिक प्रहरीले चेकिङका क्रममा कुनै स्मार्ट लाइसेन्स नक्कली हो भन्ने शङ्का लागेमा मात्रै चेक गर्न सक्छ ।
लाइसेन्स चेक गर्दा रिडर मेसिनबाट लाइसेन्स नम्बर, चालकको नाम, ठेगाना र अन्य विवरण आउँछ । चेकिङको समयमा लाइसेन्स चेक हुनेगर्छ । स्मार्ट कार्ड लाइसेन्स परीक्षणमा सहजताका लागि यातायात व्यवस्था विभागले दुई वर्षअघिबाट लाइसेन्स रिडर मेसिन दिएको थियो । यसले लाइसेन्समा भएको चिपलाई रिड गर्छ ।