धरान । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–६ स्थित भित्री सडकमा बालुवा लोड गरेको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको ज्यान गएको छ । 

सङ्खुवासभा चैनपुर नगरपालिका–६ का करिब १९ वर्षीय रवि बराइलीको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । भे.२ त १९२९ नम्बरको ट्याक्टर बाटोबाट ६० मिटर तल खोल्सीमा झरी दुर्घटना हुँदा उनको ज्यान गएको हो । उनलाई जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको चिकित्सकले घोषणा गरेका छन् । घटनास्थल जिल्ला ट्राफिक प्रहरी कार्यालय सङ्खुवासभाबाट अन्दाजी ३४ किलोमिटर पूर्व पर्ने जनाइएको छ । बाटो कच्ची र ओभरलोड भएका कारणले दुर्घटना भएको प्रहरीले जनाएको छ । 

यस्तै उदयपुरको उदयपुरगढी गाउँपालिका–७ मा जन्ती बोकेको यात्रुवाहक बस र सामान बोकेको मिनी ट्रक आपसमा  ठक्कर खाँदा एक जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् । निधन हुनेमा बारा जिल्ला गढीमाई गाउँपालिका–४ का ७० वर्षीय सीताराम धामी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनको विभिन्न भागमा चोट लागेको थियो भने बोल्न नसक्ने गम्भीर अवस्थामा रहेका थिए । उनलाई तत्कालै मोरङको विराटनगरस्थित न्यूरो अस्पतालमा रिफर गरिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । 

बिहीबार मदनभण्डारी राजमार्गस्थित बागमती प्रदेश ०६–००१ ख ०१९५ नम्बरको बस र तेजपत्ता बोकेको ना.८ ख २४०४ नम्बरको मिनी ट्रक आपसमा ठक्कर खाँदा उक्त सङ्ख्यामा जन्ती हिँडेकाहरू घाइते भएका हुन् । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ । घाइते हुनेहरूमध्ये अधिकांशको डिस्चार्ज भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा तीनजना गम्भीर रहेका छन् । 

यस्तै उदयपुरको बेलका नगरपालिका–८ सेतीखोलास्थित मदनभण्डारी लोकमार्गमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एकजना गम्भीर घाइते भएका छन् । को.३४ प ६८१५ नम्बरको मोटरसाइकलले पैदलयात्री बेलका नगरपालिका–८ का ८ वर्षीया सुजिका राईलाई ठक्कर दिएको हो । बालिकाको टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याइएको छ भने मोटरसाइकल चालक चौदण्डीगढी नगरपालिका–३ बेल्टारका ४९ वर्षीय यमराज राईलाई नियन्त्रणमा लिइएको छ । उनी पनि सामान्य घाइते भएका छन् । बालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।