धरान । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई तेस्रो पटक पनि स्पष्टीकरण सोधिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले यसअघि सोधिएका दुई स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नभएको भन्दै तेस्रो पटक पनि स्पष्टीकरण सोधेका हुन् । उनले स्पष्टीकरण वस्तुगत र चित्तबुझ्दो नभएको भनेका छन् । उनले कार्यकारी निर्देशक पदबाट किन नहटाउने ? भन्दै २४ घण्टाभित्र कामको विवरण पेश गर्न निर्देशन दिएका छन् ।
कार्यकारी निर्देशक घिसिङलाई गत पुस २२ गते स्पष्टीकरण सोधिएको थियो । उक्त स्पष्टीकरणका विषयमा गत पुस २८ गते घिसिङले स्पष्टीकरण दिएका थिए । उनलाई कार्यकारी निर्देशक पदमा २०७८ माघ ५ गते मन्त्रालयले जिम्मेवारी दिएको थियो । सो जिम्मेवारीअनुसार कार्यसम्पादन सम्झौताको व्यवस्था बमोजिम तथा नेपाल विद्युत् प्राधिकरण, कार्यकारी निर्देशकको सेवाको सर्त तथा सुविधासम्बन्धी विनियमावली २०६१ (संशोधनसहित) को विनियम २२ को खण्ड क बमोजिम नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट किन नहटाउने ? भनी पत्राचार गरिएको छ ।
नेपाल सरकार (मन्त्रीस्तर) को फागुन १३ गतेको निर्णयअनुसार २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ । उनलाई पदबाट हटाउने विषयमा ऊर्जामन्त्री खड्काले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमै प्रस्ताव लैजाने तयारी गरेका थिए । तर, राज्यमन्त्री पूर्णबहादुर तामाङले असहयोग गरेपछि मन्त्री खड्का पछि हटेको बुझिएको छ ।
यता ऊर्जामन्त्री खड्काले सोधेको स्पष्टीकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्री खड्का र मन्त्रालयका सचिवलगायतका उच्च अधिकारीहरूसँगको सल्लाहमै भारतीय पक्षसँगको बैठकमा निर्णय र हस्ताक्षर भएको प्रष्ट्याएका छन् । मन्त्री खड्काले कुलमानलाई नेपाल–भारत द्विपक्षीय विद्युत् विनिमय समितिको बैठकमा उपस्थित भएर किन हस्ताक्षर गरेको भन्दै स्पष्टीकरण सोधेका थिए ।
उक्त बैठक गत फेब्रुअरी १२
तारिखका दिन भारतको नयाँ दिल्लीमा भएको थियो । उक्त विषयमा घिसिङले
त्यसबेला मन्त्री खड्का पनि भारतमै रहेको र सबै काम सल्लाहमै भएको बताए ।
उनले आफूले मन्त्रीले सोधेको समयसीमाभित्रै स्पष्टीकरण दिने जानकारी दिए ।