स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नजिकिँदै जाँदा विद्यार्थी राजनीतिमा देखिएको अराजकता गम्भीर चिन्ताको विषय बनेको छ। देशभरका अधिकांश क्याम्पसहरुमा विद्यार्थीहरु बीच भएका अबाञ्छित गतिविधि शोभनीय मान्न सकिँदैन । विशेषगरी नेपाली काङ्ग्रेसनिकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) मा देखिएको गुटबन्दीका कारण विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा हिंसात्मक गतिविधि बढेको छ। केही समयअघि स्ववियु निर्वाचनकै सन्दर्भमा मुठभेड भएको थियो । जनता क्याम्पस इटहरीमा तालाबन्दी भएको थियो । विद्यार्थी सङ्गठनहरु बीचको प्रतिस्पर्धा स्वभाविक भए पनि आगजनी, निर्वाचन अधिकृतलाई थुन्ने, निर्वाचन कार्यक्रम बिथोल्नेजस्ता घटनाले लोकतान्त्रिक अभ्यासलाई नै ध्वस्त पार्ने खतरा बढाएको छ।

महेन्द्र मोरङ क्याम्पसमा भएको पछिल्लो घटनाले विद्यार्थी राजनीतिमा नैतिकताको खडेरी परेको प्रष्ट पार्छ। चुनावी प्रक्रिया अगाडि बढ्दै गर्दा नेविसङ्घका दुई समूह—शेरबहादुर देउवा पक्ष र शेखर कोइराला पक्षबीच विवाद चर्किएको छ। निर्वाचन समितिले केन्द्रीय निर्देशनअनुसार देउवा पक्षलाई आधिकारिक मान्दा कोइराला पक्ष असन्तुष्ट बनेको देखिन्छ। यही असन्तुष्टिले हिंसात्मक रुप लिँदै निर्वाचन समितिको कार्यालयमा आगजनी गर्ने, निर्वाचन अधिकृतलाई थुन्ने र विध्वंसात्मक गतिविधिमा उत्रने अवस्था सिर्जना भएको हो। शैक्षिक संस्थाभित्र प्रहरी प्रशासन प्रवेश गरेर हस्तक्षेप गर्नुपर्ने अवस्था आउनु किमार्थ उचित मान्न सकिँदैन । यसरी विद्यार्थी राजनीति हिंसात्मक बन्दै जानु गम्भीर विषय हो । विश्वविद्यालयस्तरको निर्वाचन शिक्षालयमा शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनुपर्ने हो तर विगत केही वर्षयता स्ववियु चुनावहरु विवादास्पद बन्दै आएका छन् । यसले मूलतः दुई समस्या देखाएको छ—एकातिर विद्यार्थी सङ्गठनहरु लोकतान्त्रिक प्रक्रिया स्वीकार्न तयार छैनन् भने अर्कोतर्फ राजनीतिक दलहरुको प्रत्यक्ष हस्तक्षेपले विद्यार्थी राजनीति स्वायत्त रहन सकेको छैन। महेन्द्र मोरङ क्याम्पसको घटना माउ राजनीतिक दलको ठाडो हस्पक्षेपको नमुना भनेर बुझ्न गाह्रो पर्र्दैन । नेविसङ्घकै गुटबन्दीले क्याम्पसमा पटक–पटक हिंसा भड्किएको छ। हतियारसहित आक्रमण गर्ने र गम्भीर घाइते हुने घटनाहरु सामान्य मान्न सकिँदैन । विद्यार्थी राजनीतिमा क्रियाशील व्यक्तिहरुले व्यक्तिगत स्वार्थका लागि सङ्गठनलाई प्रयोग गर्नु नै यस्ता समस्याहरुको जड हो ।

विद्यार्थी समूहहरुबीचको विवादकै कारण चुनाव प्रभावित हुनसक्ने देखिन्छ। निर्वाचन सुरक्षित वातावरणमा सम्पन्न गराउन त्रिभुवन विश्वविद्यालय, क्याम्पस प्रशासन र सुरक्षा निकायको महत्वपूर्ण भूमिका रहनेछ। राजनीतिक दलको पनि उत्तिकै भूमिका  हुनेछ । आफ्नो दल, समूह वा व्यक्ति इतरको स्वार्थका लागि  स्ववियु निर्वाचनलाई हतियार बनाइनु हुँदैन । अबको चुनौती भनेको विद्यार्थी राजनीतिलाई स्वच्छ, शान्तिपूर्ण र लोकतान्त्रिक बनाउने हो । यसको लागि सबै विद्यार्थी सङ्गठनहरुले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ। राजनीतिक दलहरुले पनि आफ्ना विद्यार्थी सङ्गठनलाई दलीय स्वार्थभन्दा माथि उठी शैक्षिक संस्थाको स्वायत्तता र स्ववियु चुनावको निष्पक्षतालाई कायम गर्न निर्देश गर्नुपर्दछ । अन्यथा, विद्यार्थी राजनीति नामको यो अराजकता अझ भयावह बन्नेछ।