धनकुटा । धनकुटामा सुमो दुर्घटना हुँदा ६ जना घाइते भएको छ । सांगुरीगढी गाउँपालिका ६ स्थित कोशी लोकमार्गको कार्कीछापमा आज दिउँसो २ः३० बजे धरानबाट संखुवासभा तर्फ जाँदै गरेको प्रदेश नं १–०२–००१ ज ४०६६ नम्बरको सुमो दुर्घटना भएको हो ।
सुमो दुर्घटना ६ जना घाइते भएको र उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको साथै अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले ब्लाष्टलाई जानकारी दिए ।
दुर्घटनामा संखुवासभाको मकालु गाउंपालिका वडा नं. ४ का ४५ बर्षिय सुमित्रा तामाङ, ३५ बर्षिय निर्मला राई , २४ बर्षिय बिकेन्द्र राई, १८ बर्षिय स्वस्तिका राई तथा धनकुटाको महालक्ष्मी नगरपालिका ३ का ६६ बर्षिय मैयां थापा र उनकी छोरी १२ बर्षिय आयुशा थापा रहेका छन् ।
दुर्घटना गाडीको अगाडिको टायर पड्किएर भएको र गाडीमा सवार १३ जना मध्ये ७ जमा सकुशल रहेको प्रहरीले जनाएको छ । सवारी चालक सुनसरीको धरान उपमहानगरपालिका १५ का ३४ बर्षिय सुमन लिम्बुलाई इलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लिएको छ ।