धरान । सामुदायिकस्तरमा बालबालिकाहरूको स्वास्थ्य क्षेत्रमा निरन्तर काम गरेको भन्दै धरान–१४ स्थित आइडियल इङ्लिस बोर्डिङ स्कुलले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान एक बालरोग विशेषज्ञलाई सम्मान गरेको छ । 

सह–प्राध्यापकसमेत रहेका डा. अरुणकुमार सिंहलाई शनिबार बिदाको दिन समुदायमा पुगेर निःशुल्क स्वास्थ्य सेवा दिएको भन्दै विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि १४ नं. वडाका वडाध्यक्ष कृष्णप्रसाद भट्टराई र विद्यालयका निर्देशक सागर खड्काले सम्मान–पत्र र खादा लगाएर सम्मान गरेका हुन् । कार्यक्रममा वडा सदस्यहरू झर्ना पौडेल, कमल भट्टराई, पिण्डेश्वर बाबाधामका अध्यक्ष विकास बनेपालीलगायतको उपस्थिति रहेको थियो ।  

सोही दिन विद्यालयका प्ले–ग्रुपमा अध्ययनरत ४२ जना बालबालिकाहरूको निःशुल्क स्वास्थ्य परीक्षणसमेत गरिएको थियो । शिविरमा वडा स्वास्थ्य कार्यालय विजयपुरले प्राविधिक सहयोग गरेको थियो ।